बालेनबारे प्रधानमन्त्रीले दिने गरेका अभिव्यक्ति नियन्त्रण गर्न कांग्रेस नेताको माग

नेपाली कांग्रेसका नेता शंकर भण्डारीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बारेका प्रधानमन्त्री केपी शर्मा ओलीले दिने गरेका अभिव्यक्ति नियन्त्रणको माग गर्दै विज्ञप्ति जारी गरेका छन् । 

प्रधानमन्त्री राष्ट्रकै अभिभावक भएको ध्यानाकर्षण गराउँदै भण्डारीले प्रधानमन्त्रीजस्तो व्यक्ति एउटा व्यक्ति वा संस्थाविरुद्ध उभिन नहुने बताएका छन् । “काठमाडौं महानगरका मेयरलाई जनताले निर्वाचित गरेका हुन्, महानगरलाई व्यवस्थित बनाउनका लागि उनी क्रियाशील नै देखिन्छन्,” भण्डारीले भनेका छन्, “केही समस्या भए प्रधानमन्त्रीले अभिभावकत्व लिने, बोलाएर छलफल गर्ने हो, हुर्मत लिने तथा आलोचना गर्न सिंगो पार्टी पंक्तिलाई निर्देशन दिने विषय सुहाउँदो लागेन ।” 

भण्डारीले देशको एक जिम्मेवार नेता र प्रधानमन्त्री पदमा आसिन व्यक्ति भएकाले उनले राष्ट्रिय हितका विषयमा पार्टी स्वार्थभन्दा माथि उठ्नुपर्ने उल्लेख गरेका छन् । उनले प्रधानमन्त्रीका अन्य अभिव्यक्ति पनि लगाम जरुरी देखिएको बाएका छन् । 

सत्तासाझेदार दलका नेता भण्डारीले ‘मुलुकमा संयमताको खाँचो’ भन्दै विज्ञप्ति जारी गरेका भण्डारीले अहिलेका अभिव्यक्तिले प्रधानमन्त्री पदको शोभा नदिने उल्लेख गरेका छन् । “नेकपा एमालेका अध्यक्ष एवम् सम्माननीय प्रधानमन्त्रीज्यू मुलुकको महत्त्वपूर्ण राजनीतिक दलको प्रमुख हो भने मुलुकको प्रधानमन्त्री पनि हो । उहाँबाट सभ्य, सुसंस्कृत र परिपक्क व्यवहार तथा बोलीको अपेक्षा हुन्छ,” भण्डारीले भनेका छन्, “पार्टी अध्यक्षको हैसियतले उहाँले पार्टी नेताहरूलाई विपक्षीका विरुद्धमा आक्रामक ढंगबाट प्रस्तुत हुन दिएको निर्देशनलाई आमनागरिकले सकारात्मक रूपमा लिएका छैनन् ।”

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार