उपसभामुखबारे एमालेले भन्यो- हटाउने तयारी छैन, माओवादी र रास्वपाले फायर खोले

नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले सत्तारुढ दलले उपसभामुख इन्दिरा रानाको राजीनामा नमागेको बताएका छन् ।

आज (आइतबार) सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरुको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले उपसभामुखविरुद्ध रास्वपा र प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले फायर खोलेको बताएका हुन् ।

‘सत्तारुढ घटकहरुको बैठकमा यो कुरा उठेको हो । उपसभामुख भनेको एउटा संस्था हो । यो विषय धेरै बाहिर ल्याउन पनि हामीले उपयुक्त ठानेनौं । एकाएक रास्वपाकै प्रमुख सचेतकबाट फायर खोल्ने काम भयो । एउटा जिम्मेवार राजनीतिक पार्टीको तर्फबाट उपसभामुखजस्तो संस्थाको हुर्मत लिनेगरी कुनै विषय अगाडि बढाउन खोजिएको थिएन, छैन । विशेष गरी माओवादी केन्द्रका प्रमुख सचेतकदेखि सबैबाट यो उठेपछि हाम्रो तर्फबाट पनि त्यसमा प्रतिवाद गर्ने काम भयो । यो विषय सत्तापक्षले ल्याएको होईन,’ एमाले प्रमुख सचेतक बर्तौलाले भने ।

त्यस्तै, सत्तारुढ दलबीचमा उपसभामुख रानाको बारेमा कुनै निर्णय नभएको उनले बताए । यो विषय प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्र र रास्वपा स्वयंले उठाएको बताउँदै उनले यसलाई कसरी निरुपण गर्ने भन्ने कुरा समयक्रममा अगाडि बढ्ने बताए । आफूहरु संसद् अन्त्य गर्नेतर्फ छलफल गरिरहेको उनले बताए । संसद्को अन्त्य र प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रय महासभामा सहभागी हुन जान लागेको बेलामा रास्वपा र प्रमुख प्रतिपक्षको तर्फबाट उपसभामुखको विषय मसला बनाइएको उनले बताए ।

रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले पनि बर्तौलाले विषय त्यस्तो केही थिएन भनेर सुनाएको बताए । उनले भने, ‘उपसभामुखको विषयमा मुख्यसचेतक महेश बर्तौलाजीले हामीले त्यस्तो केही गर्ने, त्यस्तो केही थिएन । तपाईँले अलि चाँडै नै कुरा उठाउनुभयो भन्ने खालको कुरा गर्नुभयो । तपाईँहरुको त्यस्तो केही थिएन, छैन भने मैले उहाँलाई धन्यवाद भने । फेरि पनि त्यस्तो दुरासय नहोस् भनेँ,’ रास्वपा संसदीय दलका प्रमुख सचेतक बर्तौलाले भने ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार