शक्तिशाली आँधी चीनतर्फ मोडिँदै गर्दा जापानी टापुमा पहिरोको चेतावनी

एक शक्तिशाली आँधी ‘बेबिन्का’ चीनको पूर्वी समुद्री किनारतर्फ लागेको छ । यसका कारण दक्षिणी जापानको टापुका बासिन्दालाई आइतबार सम्भावित पहिरोको चेतावनी जारी गरिएको छ ।

चक्रवात ‘बेबिन्का’ आइतबार राति जापानको अमामी टापु हुँदै १९८ किलोमिटर प्रतिघण्टाको गतिमा बहिरहेको त्यहाँको मौसम विज्ञान विभाग (जेएमए)ले जनाएको छ ।

“अमामी क्षेत्रमा हाल भारी वर्षाका कारण पहिरोको खतरा बढेको छ,” जेएमएले भनेको छ । उक्त आँधी सोमबार बिहान सांघाईनजिकै अवतरण हुने पूर्वानुमान छ ।

वैज्ञानिकका अनुसार, जलवायु परिवर्तनले जापान र अरू ठाउँमा भारी वर्षाको जोखिम बढेको छ । गएको महिना एक शक्तिशाली आँधीले जापानभर निम्त्याएको भारी वर्षाका कारण सडक दुर्घटना हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको थियो ।

सन् २०२१ मा भारी वर्षाका कारण जापानी सहर अटामीमा खसेको विनाशकारी पहिरोमा परी २७ जनाको मृत्यु भएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार