सीआईबीले सुरु गर्यो मितेरी सहकारीको अनुसन्धान

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले मितेरी बचत तथा ऋण सहकारी संस्थाको अनियमितताको अनुसन्धान सुरु गरेको छ ।

उक्त संस्थामा भएको रकम अनियमितताबारे निवेदन परेपछि अनुसन्धान सुरु गरिएको सीआईबीका प्रवक्ता एवं प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए ।

उनले भने, ‘उक्त संस्थामा रकम अपचलन भएका विषयमा हामीकहाँ उजुरी परेपछि हामीले अहिले हामीले मुख्य रुपमा सहकारीका कर्मचारी र सञ्चालक समितिमाथि अनुसन्धान अघि बढाएका छौँ ।’

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ जोडिएकाले यो सहकारी घोटलाको अनुसन्धानलाई विशेष चासोको रुपमा हेरिएको छ ।

मितरीका अध्यक्ष कुम्भराज गुरुङले सो सहकारीमा धनराजकी तत्कालीन श्रीमती ज्योति गुरुङ महाप्रबन्धक रहँदा १२ करोड ५० लाख अनियमितता भएको भनी जाहेरी दिएका थिए । मितेरीका अध्यक्ष कुम्भराजको उजुरीको आधारमा सो सहकारीको अनियमितताबारे छानविन सुरु भएको हो ।

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले मितेरी सहकारीको कार्यालयमै पुगेर केही दिनअघि अध्यक्ष कुम्भराजसँग छलफलसमेत गरेको थियो । सो क्रममा कुम्भराजले ज्योतिले आफू महाप्रबन्धक भएको बेला सो रकम अपचलन गरेको बताएका थिए । उक्त कुरा धनराजलाई पनि जानकारी रहेको कुम्भराजको दाबी छ ।

धनराजले श्रीमतीसँग २०७६ सालमै सम्बन्धविच्छेद भएको बताउँदै आएका छन् । उनले आफू र श्रीमतीबीच कुनै लेनादेना र दायित्व नरहेको बताउँदै आएका छन् । तर, कुम्भराजका अनुसार धनराजले लगभग एक महिनाअघि मितेरी सहकारीमा पुगेर किस्ता तिरेका थिए । उनले सो रकमको फरफारक आफैं गर्ने पनि बताउँदै आएका थिए ।

धनराजले श्रीमतीसँग २०७६ सालमै डिभोर्स भएको बताए पनि २०७७ सालमा सो सहकारीबाट १२ लाख ऋण लिँदा ज्योति नै जमानी बसेको कागज बाहिरिएको छ । धनराजले पेश गरेको ऋण मागपत्रमा ज्योति र आफूबीचको सम्बन्ध श्रीमान÷श्रीमती रहेको खुलाएका छन् । त्यस्तै, गत २०७९ मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा धनराज स्याङ्जा–२ बाट नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार थिए । उनले निर्वाचन आयोगमा आफ्नो उम्मेदवारी दर्ता गराउँदा श्रीमती ज्योति गुरुङ नै लेखाएका छन् ।

उनका यी विविध क्रियाकलापले सहकारी ठगी प्रकरण मिलाउन कागजी डिभोर्स भएको त होईन भन्ने आशंकालाई पुष्टि गरिरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार