प्रधानमन्त्री ओलीले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने

संघीय संसद्अन्तर्गत् प्रतिनिधि सभाको बैठक सोमबार दिउँसो बस्दैछ । संघीय संसद् भवनमा दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले यही असोज ४ गतेदेखि गर्न लागेको अमेरिका भ्रमणको कार्यसूची सदनलाई जानकारी गराउनेछन् ।

प्रधानमन्त्री ओली संयुक्त राष्ट्र संघको ७९ औं महासभामा भाग लिन अमेरिका जाँदैछन् ।

यद्यपि माओवादी केन्द्रले सदनको अवरोध जारी राख्ने निर्णय गरेको छ । गत भदौ १२ गते नेकपा (एमाले)का सांसद योगेश भट्टराईले सदन बोल्ने क्रममा माओवादीले सञ्चालन गरेको ‘जनयुद्ध’लाई ‘हिंसा’को संज्ञा दिएका थिए ।

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले ध्यानाकर्षण भएको भन्दै संसद्को अभिलेखबाट हटाउन माग गरेका थिए। सभामुख देवराज घिमिरेले ‘असंसदीय’ नरहेको रूलिङगरेपछि माओवादी केन्द्रले सदनको कामकारबाही अघि बढ्न दिएको छैन । आइतबार बिहान सभामुख घिमिरेले प्रमुख सचेतक, सचेतकहरूसँग छलफल गरेका थिए । त्यो बैठकमा भएको कुराकानी पार्टी संसदीय दलमा छलफल गर्ने भन्दै एक घन्टा समय मागेको थियो ।

माओवादी केन्द्रको आइतबार बसेको संसदीय दलको बैठकले सदनको अवरोध कायमै राख्ने निर्णय गरेकाले आजको बैठक के हुने भन्ने अन्योल कायमै छ ।

आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदको चालू बर्खे अधिवेशन आजै राति १२ बजेबाट अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरिसकेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार