डोनाल्ड ट्रम्पको फेरि हत्या प्रयास, सन्दिग्ध पक्राउ

अमेरिकी राष्ट्रपतिका लागि रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको पुनः हत्या गर्ने प्रयास भएको छ। आइतबार फ्लोरिडाको आफ्नो गल्फ कोर्समा गल्फ खेलिरहेको समयमा उनीमाथि आक्रणमको प्रयास भएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्।

यद्यपि ट्रम्पमाथि आक्रमण हुनु अगाडि नै सुरक्षाकर्मीहरुले शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको थियो। गल्फ खेल्दै गरेका ट्रम्पभन्दा केही सय मिटर टाढा झाडीमा लुकेर बसेको अवस्थामा शंकास्पद व्यक्ति देखिएपछि सुरक्षाकर्मीले उनीमाथि गोली चलाएका थिए।

गोली चलेपछि ती व्यक्ति त्यहाँबाट भागेका थिए। सुरक्षाकर्मीहरूले उनी भागेको स्थानबाट एके-४७ राइफल र अन्य सामानहरू बरामद गरेको छ। त्यहाँबाट भागेको केही समयमै प्रहरीले ती बन्दुकधारीलाई पक्राउ गरेको छ।

पक्राउ परेका व्यक्ति ५८ वर्षीय र्‍यान वेस्ली रूथ रहेको अमेरिकी सञ्चारमाध्यमहरू द न्युयोर्क टाइम्स र सिएनएनले उल्लेख गरेका छन्। बन्दुकधारीलाई ट्रम्प गल्फ खेलिरहेका छन् भन्ने कसरी थाहा भयो भन्ने विषयले उनलाई दिइएको सुरक्षास्तरबारे नयाँ प्रश्न उठेको छ।

घटनापछि ट्रम्पले सामाजिक सञ्जालमार्फत आफू ठीक रहेको बताएका छन्। ह्वाइट हाउसले उक्त घटनाबारे राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई जानकारी गराइएको जनाएको छ। राष्ट्रपति बाइडेन र उपराष्ट्रपति ह्यारिसले ट्रम्प सुरक्षित रहेकोमा राहत महशुस गरेको ह्वाइट हाउसका अधिकारीहरूलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ।

ट्रम्पमाथि आक्रमणको प्रयास भएको यो दोस्रो पटक हो। यसअघि जुलाई १३ मा पेन्सिलभेनियाको र्‍यालीमा सम्बोधन गर्दै गरेका ट्रम्पमाथि गोली नै प्रहार भएको थियो। त्यतिबेला उनको कानमा गोली लागेको थियो। र्‍यालीमा सहभागी एक समर्थकको मृत्यु भएको थियो। त्यतिबेला ट्रम्पमाथि गोली चलाउने २० वर्षीय थोमस क्रुक्सलाई सुरक्षाकर्मीले गोली प्रहार गरि मारिदिएका थिए।

अमेरिकामा नोभेम्बर ५ राष्ट्रपति निर्वाचन हुँदैछ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार