गुलियो मह नबिक्दा किसानको मन अमिलो

चितवनमा मह बिक्री नहुँदा मौरी पालक किसान चिन्तित बनेका छन् । नयाँ मह निकाल्ने समय भइसक्दा पनि पुरानै मह बिक्री नहुँदा उनीहरु चिन्तित बनेका हुन् ।

नेपाल मौरीपालक महासङ्घका निवर्तमान अध्यक्षसमेत रहेका कालिका नगरपालिकाका शिवप्रसाद शर्मा चितवनमा मात्रै करिब ५ सय मेट्रिक टन मह बिक्री हुन नसकेको बताउँछन् । उनी भन्छन्, ‘फेरि मह निकाल्ने समय भयो । पुरानो मह बिक्री नहुँदा किसान चिन्तित छन् ।’

पौडेलका अनुसार चितवनमा हाल ३० हजार बढी मौरीका घार छन् । यसबाट वार्षिक ८ सय मेट्रिक टन मह उत्पादन हुँदै आएको छ । गत वैशाखदेखि राज्यले मह आयात रोक्दा केही सहज भएको भए पनि पुनः आयात खुलाउन व्यवसायी लाग्दा किसान समस्यामा पर्ने उनको भनाइ छ ।

यहाँ हाल सेरेना र मेरिफेरा नामक मौरी पालिँदै आएको छ । यसबाट वार्षिक चार हजार नौ सय मेट्रिक टन मह उत्पादन हुँदै आएको निवर्तमान अध्यक्ष पौडेलले जानकारी दिए । उनका अनुसार सेरेनाबाट एक हजार दुई सय मेट्रिक टन र मेरिफेराबाट तीन हजार सात सय मेट्रिक टन मह उत्पादन हुँदै आएको छ ।

उत्पादित महमध्ये तीन हजार एक सय ४५ मेट्रिक टन मह बिक्री नहुँदा किसानको घरमा राख्नुपर्ने बाध्यता रहेको उनले बताए । अहिले सरकारले आयात रोक्दा केही राहत महसुस भएको उनको भनाइ छ ।

मह बिक्री हुन छाडेपछि किसानले उत्पादित महलाई ‘ब्राण्डिङ’ गरेर बजारमा ल्याउन थालेका छन् । पौडेलले पनि आफूले उत्पादन गरेको महलाई ब्राण्डिङ गरेर बजारमा ल्याएका छन् । पूर्वी चितवनको कालिका –६ खोलेसिमल बजारमा पौडेलले आफूले उत्पादन गरेको महलाई ब्रण्डिङ गरी महघरमार्फत बिक्री सुरु गरेका जानकारी दिए ।

उनले वार्षिक ६ टन मह उत्पादन गर्दै आएको बताए । ‘महले बजार नपाएर घर थन्किने अवस्था भयो । यसलाई व्यावसायिक बनाएर अघि बढ्न लागेको हुँ ।’ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइको सहयोगमा ब्राण्डिङको काम सुरु गरिएको उनले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार