निजगढमा ४३ जना सवार बस पुलबाट खस्यो, एक जनाको मृत्यु

बारामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गएराति साढे १२ बजे भएको उक्त दुर्घटनामा अन्य ४२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर छ ।

मृत्यु हुनेमा दाङको गडवा गाउँपालिका-५ घर भएका करिब ४५ वर्षीय चेतन राय यादव रहेको बाराका डीएसपी प्रकाश सापकोटाले जानकारी दिए । विराटनगरबाट दाङतर्फ जाँदै गरेको ना ८ ख ११६४ नम्बरको बस अनियन्त्रित भएर पूर्वपश्चिम राजमार्गमा पर्ने निजगढ नगरपालिका- ८ स्थित उनासी पुलबाट तल खसेर दुर्घटना भएको उनले बताए ।

यादवको उपचारको क्रममा वीरगन्जस्थित बयोधा अस्पतालमा आज बिहान मृत्यु भएको हो । गम्भीर घाइते सात जनाको पनि सोही अस्पतालमा उपचार भइरहेको छ भने सामान्य घाइते ३६ जनाको निजगढकै विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

अगाडिपट्टीको पट्दा भाचिँदा बस अनियन्त्रित भएर पुलबाट तल खसेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको डीएसपीले सापकोटाले बताए ।

घाइतेमध्ये सामान्य अवस्थाका २७ जनाको निजगढस्थित प्रसूती अस्पतालमा र आठ जनाको सिटी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा बसका चालक सल्यानको शारदा नगरपालिका- ३ का करिब ४० वर्षीय बलबहादुर भण्डारी पनि गम्भीर घाइते भएका प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार