आईसीसी विश्वकप लिग-२: नेपालले आज क्यानडासँग भिड्दै

आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय एक दिवसीय किकेट श्रृंखला आजदेखि क्यानडामा शुरू हुँदैछ । नेपालसहित क्यानडा र ओमानबीच हुने त्रिदेशीय एक दिवसीय किकेट श्रृंखलाको उद्घाटन खेलमा नेपालले घरेलु टोलीसँग खेल्दैछ ।

लिग–२ अन्तर्गत यसअघि घरेलु भूमिमा भएको त्रिदेशीय शृंखलामा खराब लयबाट गुज्रिएको नेपाल तालिकाको सातौँ स्थानमा छ । यसअघि नेपालले घरेलु मैदानमै खेलेका चार खेलमध्ये तीन खेलमा हार व्यहोर्दा एक खेलमा मात्र जित निकालेको थियो । आठ टिममध्ये सातौँ स्थानको नेपालको खातामा दुई अंकमात्र छ । आजको खेलमा जित निकाले नेपाल तालिकाको छैटौँ स्थानमा उक्लिनेछ ।

यता, तालिकाको शीर्ष तीनभित्र रहेको क्यानडाले भने लिग–२ मा मिश्रित नतिजा निकालेको छ । आठ खेलमध्ये चारमा जित र चार खेलमा हार व्यहोरको क्यानडा आठ अंकसहित तालिकाको तेस्रो स्थानमा छ ।

नेपालले आजको खेलपछि बुधबार ओमानसँग खेल्नेछ । यस्तै, नेपाले आइतबार पुनः क्यानडासँग र मंगलबार ओमानसँग खेल्ने तालिका छ ।

आजको खेल क्यानडा किंग सिटीमा नेपाली समयअनुसार बेलुका ७ः४५ बजेदेखि सुरु हुनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार