सहकारी ठगी प्रकरणमा रवि लामिछानेले क्लिन चिट पाएको शिशिर खनालको दाबी

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं प्रतिनिधि सभा सदस्य शिशिर खनालले सहकारीको बचत अपचलन छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिमार्फत रवि लामिछानेले पूर्ण रुपमा क्लिन चिट पाएको दाबी गरेका छन् ।

आज (सोमबार) संसद् बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले रास्वपाका सभापति समेत रहेका रवि लामिछानेमाथि लगाइएको आरोप पुष्टि नभएको बताएका हुन् ।

‘जुन आरोप माननीय रवि लामिछानेमाथि लगाइएको थियो, सहकारीको रकम अपचलन गरिएको छ, सहकारीको रकम हिनामिना भएको छ भन्ने आरोपबाट माननीय रवि लामिछानेले पूर्णरुपमा यो क्लिन चिट यो समितिमार्फत पाउनुभएको छ,’ खनालले भने ।

समितिले प्राप्त प्रमाण र तथ्यहरुको आधारमा रवि लामिछानेको सहभागिता देखिँदैन भनेर निश्कर्ष निकालेको उनको दाबी छ । ‘यो समितिले प्राप्त प्रमाण, तथ्यको आधारमा सहकारीबाट रकमको प्रवाह गर्ने क्रममा कुनै पनि ठाउँमा रवि लामिछानेको सहभागिता देखिँदैन भनेर यो प्रतिवेदनमा निश्कर्षको रुपमा हामीले लेखेका छौं,’ उनले भने ।

रवि लामिछानेको खातामा रकम गएको विषयलाई लिएर नै समिति बनाइएको उनले बताए । मूल आरोपमा रवि लामिछानेको संलग्नता नभएको समितिको निश्कर्ष रहेको उनले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार