प्रकाशमानसिंह राउत प्रधानन्यायाधीशमा सिफारिस

संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश प्रकाशमानसिंह राउतलाई सिफारिस गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार बालुवाटारमा बसेको परिषद्को बैठकले सर्वसम्मतरूपमा राउतलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

बैठकमा परिषद्का सदस्यका रूपमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, विपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल र उपसभामुख इन्दिरा राना सहभागी थिए ।

‘पहिलादेखि नै वरिष्ठलाई नै सिफारिस गरिँदै आएको रहेछ । यसपालि पनि वरिष्ठताका आधारमा सिफारिस गरिएको हो,’ उपसभामुख रानाले जानकारी दिइन् ।

न्याय परिषद्ले यही भदौ २० गते नै प्रधानन्यायाधीशका लागि योग्यता पुगेका ८ न्यायाधीशको नाम पठाएको थियो । तीमध्ये वरिष्ठतामा सबैभन्दा अगाडि रहेका राउतको नाम संवैधानिक परिषद्ले छानेको हो ।

अब संसदीय सुनुवाइबाट अनुमोदन भएमा राष्ट्रपतिले राउतलाई प्रधानन्यायाधीश नियुक्त गर्नेछन् । प्रधानमन्त्री ओलीले गएको बुधबार नै बस्ने गरी संवैधानिक परिषद्को बैठक बोलाएका थिए। बुधबार स्थगित भएको बैठक आज बसेको हो ।

आजको बैठकलाई सहज ढंगले सञ्चालन गर्ने उद्देश्यसहित प्रधानमन्त्रीले हिजै विपक्षी दलका नेता एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सत्ता साझेदार दल कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए ।

हालका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आगामी असोज २० गतेबाट उमेर हदको कारण अवकाश पाउँदैछन् । त्यसपछि न्यायपालिकाको नेतृत्व राउतले सम्हाल्ने गरी संवैधानिक परिषद्ले सिफारिस गरेको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार