यस वर्ष चितवन राष्ट्रिय निकुञ्जमा आठ छावा थपिँदै

चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा एकै वर्षमा आठवटा छावा (हात्तीको बच्चा) थपिने भएका छन् । यसवर्ष दुईवटा बच्चा जन्मिसकेका छन् भने ६ वटा जन्मिने क्रममा छन् ।
 
तालिम केन्द्रका प्रमुख मनपुरण चौधरीका अनुसार गएको जेठ १२ गते कर्णालीकलीले भाले र जेठ १६ गते हिमालीकलीले पोथी छावा जन्माएका हुन् ।

यही असोजभित्रमा देवीकली, तीर्थमानकली र रिमझिमकलीले बच्चा जन्माउने उनले बताए । उनका अनुसार यसै वर्षभित्र तमोरकली, लोकतन्त्रकली र चितवनकलीले बच्चा जन्माउँदै छन् ।
 
प्रमुख चौधरीले भने, “एकदुई महिना तलमाथि होला तर यसै वर्षमा आठ छावा थपिँदै छन् ।” यसअघि विसं २०८० सालमा दुईवटा छावा जन्मिएका थिए । गण्डकीकली र प्रवेशकलीले छावा जन्माएका हुन् ।  विसं २०७९ मा ६ छावा जन्माएका थिए ।
 
बच्चा जन्मिएको दुई महिनापछि नै हात्ती पुनःगर्भवती हुनयोग्य हुने जनाइएको छ । उनका अनुसार २२ देखि २४ महिनामा हात्तीले बच्चा जन्माउँछ । अधिकांश छावा जंगली हात्ती रोनाल्डो, गोविन्दे, धु्रवे र मकुनाका हुन् । 
खोरसोर क्षेत्रमा अहिले पनि गोविन्दे र मकुना दैनिक आउने गरेको उनले जानकारी दिए । 
 
 जन्मिएको तीन वर्षपछि हात्तीका बच्चालाई तालिम दिने गरिन्छ । चौधरीका अनुसार प्रजनन केन्द्रमा हाल ११ माउ र १० छावा छन् । 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार