भोटेकोशीमा खसेको गाडीका चालकको शव सुनकोशीमा भेटियो

गएको बिहीबारदेखि सिन्धुपाल्चोकस्थित भोटेकोसी नदीमा बेपत्ता भएका बोलेरो गाडीका चालकको शव फेला परेको छ ।

सिन्धुलीको फिक्कल गाउँपालिका ६ सोखुखोलास्थित सुनकोसी नदीमा सोमबार बोलेरो चालकको शव फेला परेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

सिन्धुपाल्चोकको बाह्रबिसे–तातोपानी सडकअन्तर्गत छ्याक्सानजिकैबाट बिहीबार भोटेकोसी नदीमा बा २० च २१८५ नम्बरको बोलेरो खसेको थियो ।

दुर्घटनामा ज्यान गुमाउने बाह्रबिसे नगरपालिका–९ कि ३५ वर्षीया सुन्तली तामाङको शव शनिबारै भेटिएको थियो ।

‘बोलेरो चालक भोटेकोसी गाउँपालिका ५ बस्ने अन्दाजी ३५ वर्षीय सानु तामाङको शव पनि फेला परेको छ,’ थापाले भने, ‘मृतकका छोराले शवको सनाखत गरेका छन् । गएराति नै शव परीक्षणको लागि धुलिखेल अस्पताल लगिएको छ ।’

विपद् व्यवस्थापन वेश क्याम्प खुर्कोटबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा खटिएको गोताखोरसहित ९ जनाको टोलीले बोलेरो चालक तामाङको शव फेला पारेको हो ।

गत शुक्रबार बिहान बाह्रबिसे नगरपालिका–६ बोर्डरल्यान्ड ढुंगाखानी छ्याक्सास्थित अरनिको राजमार्गबाट अन्दाजी १०० मिटर तल भोटेकोसी नदीमा गाडीको टायर देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

त्यसपछि गएको प्रहरी टोलीले क्रेनको सहायताले ७ घण्टाको प्रयासपछि शुक्रबार बेलुका क्षतिग्रस्त अवस्थामा बोलेरो नदीबाट निकालेको थियो । तर त्यसमा मानिस कोही पनि थिएनन् ।

पछि आफन्तहरूले जानकारी गराएपछि प्रहरीले चालक सानु शेर्पा र यात्रु सुन्तली तामाङ नदीमा बेपत्ता भएको थाहा पाएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार