प्रधानमन्त्री ओली शुक्रबार अमेरिका जाने, असोज १० गते राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार अमेरिका जाने भएका छन् । उनी न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

“प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले असोज १० गते संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्नुहुनेछ,” परराष्ट्र मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रधानमन्त्री ओली असोज ८ गते राष्ट्रसंघको ७९औँ महासभाको उद्घाटन कार्यक्रममा सहभागी हुनेछन् । असोज ९ गते अमेरिकाका राष्ट्रपति जो बाइडेनले महासभामा सहभागी हुन आउने पाहुनाको सम्मानमा आयोजना गर्ने रात्रिभोजमा उनी सहभागी हुनेछन् ।

न्युयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले अतिकम विकसित राष्ट्रहरूको समूह (एलडीसी)को विश्व समन्वय ब्युरोको अध्यक्षको रूपमा एलडीसी सम्मेलनलाई सम्बोधन गर्ने परराष्ट्रले जनाएको छ ।

असोज ७ गते प्रधानमन्त्री ओलीले कोलम्बिया विश्वविद्यालयमा ‘नेपालको प्रजातन्त्र र आर्थिक समृद्धिको यात्रा’ विषयमा प्रवचन दिनेछन् । प्रधानमन्त्री ओलीको असोज ११ गते हार्वर्ड विश्वविद्यालयमा ‘नेपालको दृष्टिकोण : संक्रमणकालीन न्यायदेखि जलवायु न्यायसम्म’ भन्ने विषयमा सम्बोधन गर्ने कार्यक्रम छ ।

न्युयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने परराष्ट्रको विज्ञप्तिमा उल्लेख छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार