नजिकै पक्की पुल बनेपछि प्रयोगविहीन भएको झोलुङ्गे पुल

कुनै बेला दाङको राजपुर गाउँपालिकाको जङ्ग्रहवा र लमही नगरपालिकाको जहरे जोड्ने झोलुङ्गे पुल नै स्थानीयका लागि आवतजावतको विकल्प थियो। यही पुलले नै राप्ती नदीमा डुंगाको जोखिमपूर्ण यात्रा गर्नबाट छुट्कारा दिएको थियो।

अचेल त्यही पुल प्रयोगविहीन छ। करिब एकसय मिटर नजिकै पक्की मोटरेल पुल बनेपछि झोलुङ्गे पुल प्रयोगविहीन हुन पुगेको स्थानीय शान्तकुमार बुढाले बताए।

‘पहिले यही पुल नै हाम्रो लागि नदी वारपार गर्ने माध्यम थियो । त्यसताका बरदानजस्तै बनेको थियो झोलुङ्गे पुल,’ उनले भने, ‘तर अचेल नजिकै मोटरेवल पुल बनेपछि प्रयोगविहीन हुन पुगेको छ।’

विगतमा राजपुर गाउँपालिकासँग राजमार्ग नजोडिएकाले यही पुलले सम्बन्ध जोडेको थियो । हाल प्रयोगविहीन भएकाले त्यसलाई अन्य आवश्कता भएको ठाउँमा लैजान सकिएमा त्यसको उपयोगिता हुने स्थानीयको भनाइ छ।

‘धेरै ठाउँमा पुल छैनन्, तर यहाँ एकै ठाउँमा दुईवटा पुल भए । त्यसैले झोलुङ्गे पुल नभएको ठाउँमा लैजान सकिए नागरिकलाई सहज हुन्थ्यो,’ बुढाले भने। यहाँ चार वर्षअघि ३५ करोडको लागतमा २८० मिटर लामो मोटरेबल पुल बनेको थियो। उक्त पुल बनेपछि सवारीसाधन सञ्चालन र स्थानीयलाई आवतजावत गर्न सहज भएको छ। यही पुल तरेर हुलाकी राजमार्ग जान सकिन्छ। यहाँ पुल निर्माण भए पनि सडक स्तरवृद्धि भने हुन सकेको छैन।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार