१० खेलाडीमा सीमित बार्सिलोनाविरुद्ध मोनाकाको जित 

यूईएफए च्याम्पियन्स लिगअन्तर्गत खेलको सुरुआती मिनेटमै १० खेलाडीमा सीमित बनेको बार्सिलोनाविरुद्ध मोनाकोले २–१ को रोमाञ्चक जित निकालेको छ ।

बिहीबार राति घरेलु मैदान स्टेड लुइसमा मोनाकोलाई जित दिलाउन म्याग्नेस अक्लिआउचे र जर्ज इलेनिकेनाले गोल गरे । बार्सिलोनाका युवा फरवार्ड लामिन यमलले गोल गरे पनि टिमलाई हारबाट जोगाउन सकेनन् ।

खेलको १०औँ मिनेटमा इरिक गार्सियाले सोझै रातो कार्डको दर्शन गर्दै मैदान छाडेपछि बार्सिलोना १० खेलाडीमा समेटिएको थियो । त्यसको ६ मिनेटपछि अक्लिआउचेले गोल गर्दै घरेलु टिमलाई अग्रतामा राखेका थिए । २८औँ मिनेटमा लामिन यमलले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काए । तर, ७१औँ मिनेटमा इलिनिकेनाले निर्णायक गोल गरेपछि मोनाकोले क्याटालन जायन्टलाई २–१ ले निराश बनाएको हो ।

जितसँगै मोनाको तालिकाको १४औँ स्थानमा उक्लिएको छ । पहिलो खेलमै पराजित बार्सिलोना २३औँ स्थानमा छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार