राहुघाट जलविद्युत् आयोजनाको निर्माण ८० प्रतिशत सकियो

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावरले निर्माण गरिरहेको ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजनाको काम ८० प्रतिशत सकिएको छ ।

नेपाल सरकार तथा प्राधिकरणको लगानी र निर्यात आयात (एक्जिम) बैंक, भारतको लाइन अफ क्रेडिटबाट प्राप्त सहुलितपूर्ण ऋणमा म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन आयोजना आगामी असारभित्र सम्पन्न गर्ने गरी काम भइरहेको छ ।

आयोजनाको ६.२ किलोमिटर लामो सुरुङ खनेर कंक्रिट लाइनिङको काम धमाधम भइरहेको छ । कमजोर भौगर्भिक अवस्था रहेकाले सुरुङलाई पूर्णरूपमा कंक्रिट लाइनिङ गर्नुपर्ने छ । हालसम्म मुख्य सुरुङको एक किलोमिटर कंक्रिट लाइनिङ गरिएको छ ।

मुख्य सुरुङबाट विद्युत्‌ गृहसम्म पानी पुर्‍याउन राखिने एक हजार ५० मिटर पेनस्टक पाइपमध्ये १३० मिटर जडान गरिएको छ । विद्युत् गृहको मुख्य सिभिल संरचनाहरूको निर्माण सम्पन्न गरी टर्वाइन, जेनेरेटरलगायतका इलेक्ट्रोमेकानिकल उपकरणहरू जडान भइरहेको छ । विद्युत् उत्पादनका लागि २०/२० मेगावाटका दुइवटा युनिट रहने छन् ।

खोलाको नदी फर्काउन आवश्यक बाँधको सिभिल संरचना निर्माण सम्पन्न भएको छ । बाँधमा रहने गेटलगायतका उपकरणहरू आयोजनास्थलमा ढुवानी भइसकेका छन् । अब जडान सुरु हुने छ । बालुवा थिग्ग्रयाउने पोखरी ९डिसेन्टर०को निर्माण करिब ३० प्रतिशत सकिएको छ । वर्षाका कारण रोकिएको हेडवक्र्सको निर्माण अव सुरु हुने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक एवम् रघुगंगा हाइड्रोपावर सञ्चालक समितिका अध्यक्ष कुलमान घिसिङले बिहीबार निर्माणस्थलको अनुगमन गरी निर्माणमा सङ्लग्न आयोजना व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीहरूसँग छलफल गरेका छन् ।

आयोजनाको अनुमानित लागत नौ अर्ब १७ करोड रुपैयाँ छ । आयोजनामा भारतीय एक्जिम बैंकको ६ करोड ७० लाख डलर सहुलितपूर्ण ऋण रहेको छ । बाँकी रकम सरकार र प्राधिकरणले लगानी गरेका छन् । त्रिशूली र देवीघाट जलविद्युतपछि भारतले विद्युत् उत्पादनतर्फको राहुघाटमा सहायता उपलब्ध गराएको हो ।

सुरुमा आयोजनाको क्षमता ३२ मेगावाट थियो । आयोजना निर्माणका लागि निर्माण व्यवसायीको कमजोर कार्यसम्पादन देखिएपछि ठेक्का तोडिएको थियो । त्यसपछि आयोजनाको क्षमता बढाएर ४० मेगावाट बनाएर नयाँ ठेक्का सम्झौता गरिएको थियो ।

दैनिक चार घण्टा पिकिङ गर्न मिल्ने आयोजनाबाट वार्षिकरूपमा २४ करोड ७९ लाख युनिट विद्युत् उत्पादन हुने छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार