ओलीको आत्ममुग्धताले एमालेमा रहेका नेताहरुको सत्यानाश हुँदैछः घनश्याम भुसाल

नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेकपा (एमाले) सक्किने बाटोमा अगाडि बढेको टिप्पणी गरेका छन् ।

आज (शुक्रबार) एकीकृत समाजवादी बागमती प्रदेश कमिटीद्वारा आयोजित १० औं महाधिवेशनको सन्देश सभालाई सम्बोधन गर्दै उनले केपी शर्मा ओलीको आत्ममुग्धताले एमाले सक्किने बाटोमा अगाडि बढेको बताएका हुन् । उनले ओलीको आत्ममुग्धताले एमालेमा रहेका क्षमता, ज्ञान, चेतना, साहस, हिम्मत र प्रतिवद्धता भएका नेताहरुको सत्यानाश हुनेवाला रहेको बताए ।

‘नेकपा (एमाले) सकियो, सकिन्छ । यो जतिसुकै ठूलो होला । तर, यो कमरेड ओलीको आत्ममुग्धताले त्यहाँका साह्रा कमरेडहरुको, एमालेमा रहेका साह्रा कमरेडहरुको क्षमता, ज्ञान, चेतना, साहस, हिम्मत, प्रतिवद्धता साह्रा सत्यानाश हुनेवाला छ । एमाले त्यो बाटोमा गयो,’ उनले भने ।

साथै, महासचिव भुसालले ओलीका कारण कम्युनिष्ट मुभमेन्टमा धक्का लागेको बताए । तत्कालीन एमाले र माओवादी मिलेर बनेको नेकपालाई जोगाउन नसक्दा कांग्रेसले बौरिने मौका पाएको उनले बताए । ओलीको हनुमान नाच्दा कम्युनिष्ट आन्दोलनमा धक्का लागेको उनको टिप्पणी छ । ‘ओलीको हनुमान नाच्यो हाम्रो मुभमेन्टभित्र । जसले कम्युनिष्ट आन्दोलनको साह्रा बगैचा, हाँगा भाँचझुँच पार्यो, विरुवाहरु उखेलियो,’ नेता भुसालले भने ।

कांग्रेस–एमालेले आफ्ना साह्रा पाप धुनका लागि र नागरिकका ध्यान मोड्नका लागि उनीहरुले संविधान संशोधनको कुरा गरिराखेको नेता भुसालले बताए । हतारोमा संविधान जारी गरिएको बताउँदै उनले संविधानमा समस्या रहेको स्वीकार गरे । उनले अहिले यो संविधानमा भन्दा संविधानको लिडर हौं भन्नेमा समस्या रहेको बताए ।

ओलीले दुई–दुई पटक संसद् विघटन गरेकाले उनलाई आजको लागिमात्रै नभएर भविष्यमा समेत राजनीति गर्न नालायक सावित गर्नुपर्नेमा फेरि पनि नेता बनेको उनले टिप्पणी गरे । ओली–देउवाको इच्छाअनुसार संशोधन हुन सम्भव नरहेको र हुन नदिने उनले बताए ।

‘कमरेड ओली, सभापति देउवा यो कुरा बुझ, इतिहासले पटक–पटक कठघरामा उभ्याइसकेका तिमीहरुले, तिमीहरुको इच्छाअनुसार संविधान संशोधन किमार्थ हुँदैन, हुन दिइने छैन । इतिहासका साह्रा नालायक जुटेर संविधान संशोधनको कुरा गर्दैछन् । यिनको इच्छामुताविक संविधान संशोधन हुँदैन,’ उनले भने ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार