भरतपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

चितवनको भरतपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका–२ नारायणगढको लीला चोकमा शनिबार तीव्र गतिको मोटरसाइकल आफैँ अनियन्त्रित भई पल्टिँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

सहिद चोकबाट पोखरा बसपार्क जाने क्रममा बा प्र ०६–००२ प ३१४५ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो ।

दुर्घटनामा पूर्वी नवलपरासीको गैँडाकोटका ३६ वर्षीय रविन थापा र लमजुङ दुधपोखरी गाउँपालिका–६ का ४० वर्षीय पूर्णबहादुर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए ।

मृत्यु हुने थापा मोटरसाइकल चालक हुन् भने गुरुङ पछाडि सवार थिए । उनीहरुको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार