अतिरिक्त ओपिडीले शिक्षक, कर्मचारी र मजदुरलाई सहज

पर्वत अस्पतालले गत चैतको अन्त्यबाट सुरु गरेको अतिरिक्त ‘ओपिडी’ सेवाले दिउँसोको समयमा काममा व्यस्त हुने शिक्षक, कर्मचारी र दैनिक ज्यालामा काम गर्ने मजदुरहरूलाई सहज भएको छ ।

शिक्षक, निजामती कर्मचारी तथा ज्यालादारीमा काम गर्नेहरूले दिउसोको समयमा कार्यालय र काममा व्यस्त हुँदा स्वास्थ्य परीक्षणका लागि सहजै अस्पताल जान पाउँदैनन् । समय अभावका कारण बिहान बेलुकाको समयमा निजी क्लिनिकहरूमा जानुपर्ने बाध्यताको अन्त्य गर्दै अस्पतालले बिहान सात बजेबाट साँझ सात बजेसम्म १२ घण्टा ‘ओपिडी’ सेवा सुरु गरिएको थियो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बास्तोलाका अनुसार वैशाखदेखि भदौसम्मको पाँच महिनाको अवधिमा ‘ओपिडी’ बाट कुल २९ हजार ११ जनाले स्वास्थ्य सेवा लिएका छन् । अस्पतालले यिनीहरूको मापन चार समयमा बाँडेर गरिरहेको छ । जसमध्येका सबैभन्दा बढी बिहान नौ बजेदेखि दिउँसो एक बजेसम्मको समयमा सबैभन्दा बढी १७ हजार सात सात जनाले स्वास्थ्य सेवा लिएका छन् ।

जुन कुल बिरामीको ६१ प्रतिशत हो । दोस्रो धेरै सेवा लिनेहरूको समय बिहानको ‘ओपिडी’ सेवाअन्तर्गत सातदेखि नौ बजेसम्मको समयमा रहेको छ । पाँच महिनामा करिब १७ प्रतिशत अर्थात् पाँच हजार ७२ जनाले सेवा लिएका छन् ।

यस्तै दिउँसो एक बजेदेखि साँझको पाँच बजेसम्म सेवा लिनेहरूको सङ्ख्या पनि करिब १७ प्रतिशत अर्थात् पाँच हजार १५ रहेको छ । सबैभन्दा कम साँझको ‘ओपिडी’ बाट एक हजार दुई सय १७ जना अर्थात् करिब पाँच प्रतिशतले सेवा लिएका छन् ।

अस्पतालमा रहेको निकै कम जनशक्तिलाई जसोतसो परिचालन गरेर भए पनि सञ्चालनमा ल्याइएको ‘आउटप्यासेन्ट डिपार्टमेन्ट’ (ओपिडी) सेवाले जसलाई केन्द्रमा राखेर सञ्चालनमा ल्याइएको हो । यो सेवा उनीहरूको लागि निकै राम्रो सेवाको रूपमा स्थापित भएको मेडिकल सुपरिटेन्डेन्ट डा. बास्तोलाले बताए ।

‘दैनिक मजदुरीमा जानेहरूदेखि शिक्षक र कर्मचारीहरूले स्वास्थ्य परीक्षण गराउनुपर्दा मजदुरले एक दिनको काम नै छाड्नुपर्ने अनि शिक्षक र कर्मचारीहरूले एक दिन बिदा लिनुपर्ने बाध्यता थियो’, उनले भने, ‘ज्याला नै त्यागेर अस्पताल आउन नपरोस्, शिक्षक र कर्मचारीहरूले पनि केही समयको जाँचका लागि पूरै दिनको बिदा लिन नपरोस् भनेर यो सेवा सुरु गरिएको हो । सेवाको तथ्याङ्कले पनि यो सेवाको प्रभावकारिताको बारेमा पुष्टि गरेको छ ।’

दिउँसोको समयमा मात्रै ‘ओपिडी’ सेवा प्रदान गर्दा अस्पतालमा दिउँसोको समयमा मात्रै बढी चाप हुनुका साथै सेवाग्राहीलाई पनि समस्या हुने भएपछि केही तयारी गरेर गत चैत २६ गतेदेखि बिहान र बेलुकाको समयमा पनि ‘ओपिडी’ सेवा सुरु गरेको हो । यसअघि बिहान १० देखि साँझ पाँच बजेसम्म मात्रै ‘ओपिडी’ सेवा सञ्चालनमा रहेको थियो ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शङ्कर गिरीले अस्पतालमा रहेको कम जनशक्तिलाई नै परिचालन गरेर थप शुल्क बिना नै सेवा विस्तार गर्दा नागरिकलाई सहज भएको बताए । बिहान र साँझको समयमा शिक्षक कर्मचारीहरू मात्रै नभएर गाउँबाट आउनेहरूले पनि दिउसो भिडभाडले सेवा लिन ढिलाइ हुने भएकाले सकेसम्म बिहानको समयलाई सदुपयोग गर्ने गरेको उनको भनाइ छ । अस्पतालको यो विस्तारित सेवामा स्वास्थ्य बिमितहरूलाई स्वास्थ्य बिमा मार्फत नै सेवा उपलब्ध हुने गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार