बागमतीमा प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम निर्माणमा राप्रपा पनि सहभागी

बागमती प्रदेश सरकारले सरकार गठन भएको झण्डै दुई महिनापछि न्यूतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । कार्यक्रम निर्माणमा विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी पनि सहभागी भएको छ ।

सामान्यतया सरकारको साझा न्यूनतम कार्यक्रम सत्तारुढ दल मिलेर निर्माण गर्ने र सार्वजनिक समारोहमा पनि सत्तारुढ दल सामेल हुने परम्परा रहेकोमा उक्त परम्पराको अन्त्य गर्दै राप्रपाका संसदीय दलका नेता उद्धव थापा सहभागी भएका हुन् ।

६७ बुँदे न्यूनतम साझा कार्यक्रममा संविधान संशोधनका लागि संघीय सरकारलाई सहयोग गर्ने, योजना बैंक स्थापना गर्ने, सार्वजनिक विद्यालय गाभ्ने कार्यक्रमलाई प्रभावकारी बनाइने, ३ वर्ष मुनीका बालबालिका र ७५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई निस्शुल्क स्वास्थ्य उपचार गर्ने नीति लिइनेलगायतका विषय समेटिएका छन् ।

बागमतीमा योजना बैंक यसअघि नै स्थापना भइसकेको छ । मुख्यमन्त्री बहादुर सिं लामाले आगामी बजेटका लागियोजना बैंकलाई सक्रिय बनाउनेयोजनाअनुसार कार्यक्रममा राखिएको बताए । यो न्यूतम साझा कार्यक्रमले जनताको आकांक्षाअनुसार तदारूकताका साथ काम गर्न ल्याइएको लामाले बताए । सरकारको कामकारकाही प्रभावकारी ढंगले अगाडि बढाइने उनको भनाइ छ ।

कार्यक्रमलाई शुभकामना दिँदै थापाले प्रदेशको विकास सवालमा राप्रपा सधैं साथमा रहने बताए । सरकारले गरेको सकारात्मक कामलाई सहयोग गर्ने र गलतलाई खबरदारी गर्ने काम आफूहरुको रहेको थापाको भनाइ छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार