श्रीलंकामा कसैले पाएन ५० प्रतिशत मत, दोस्रो चरणका मतगणना हुने

श्रीलंकामा जारी राष्ट्रपतीय निर्वाचनमा दोस्रो चरणको मतगणना हुने भएको छ । श्रीलंकाको निर्वाचन इतिहासमा दोस्रो चरणको मतगणना पहिलोपटक हुँदै छ ।

श्रीलंकामा राष्ट्रपति निर्वाचन जित्न ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ । अहिलेसम्मको मतगणनामा वामपन्थी नेता अनुरा कुमारा दिसानायके अगाडि छन् । उनले ३९.५ प्रतिशत मत पाएका छन् ।

वामपन्थी नेता अनुरालाई मतदाताले भ्रष्ट्राचार विरोधी कदम उठाउने र प्रशासन मजबुत बनाउने वाचाका भरमा मतदान गरेको बताइन्छ ।

मुख्य विपक्षी नेता सजीथ प्रमेदासा उनका सबैभन्दा निकटका प्रतिद्वन्द्वी मानिएका छन् । अहिलेसम्मको मतगणना अनुसार, राष्ट्रपति रानिल विक्रमासिंघे तेस्रो स्थानमा छन् ।

सन् २०२२ मा श्रीलंकामा आन्दोलन भएको थियो । आर्थिक संकटको सामना गरिरहेको श्रीलंकामा भएको विरोध प्रदर्शनका कारण तत्कालीन राष्ट्रपति गोटाबाया राजपक्षेले राष्ट्रपति पद त्याग्नु परेको थियो । उक्त घटनापछि श्रीलंकामा पहिलोपटक चुनाव हुँदै छ । सन् २०२२ को प्रदर्शनमा प्रदर्शनकारीहरू राष्ट्रपति भवनमै प्रवेश गरेका थिए ।

श्रीलंकामा राष्ट्रपतिका उमेदवारमध्ये कुनै एकले मतगणनाको पहिलो चरणमा ५१ प्रतिशत मत हासिल गर्न नसके दोस्रो चरणको मतगणना हुन्छ । श्रीलंकामा सन् १९८२ देखि हालसम्म भएका आठ चुनावमा पहिलो चरणको मतगणनामै राष्ट्रपतिको टुंगो लागेको थियो ।

श्रीलंकामा एक करोड ७० लाख मतदाता छन् । जसमध्ये ७० प्रतिशत मतदान भएको छ ।

राष्ट्रपति पदको नजिक पुगेका अनुरा कुमारा दिसानायकेको दल जनता विमुक्ति पेरामुरा यसअघि कहिल्यै पनि सत्तामा पुगेको छैन । सन् २०२२ मा श्रीलंका आर्थिक संकटमा हुँदा अनुराका भाषणा श्रीलंकामा निकै चर्चित भएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार