पक्राउ परेका जोशीलाई आजै पोखरा लगिँदै

सूर्यदर्शन ऋण तथा बचत सहकारी ठगीको कसुरमा पक्राउ परेका गोरखा मिडिया नेटवर्कका पूर्वसञ्चालक समेत रहेका पूर्वडीआइजी छविलाल जोशीलाई पोखरा लगिँदैछ । जोशीलाई काठमाडौं प्रहरीको सहयोगमा कास्की प्रहरीले आइतबार दिउँसो पक्राउ गरेको हो ।

प्रहरी स्रोतका अनुसार, जोशीलाई साँझ ८ बजे बुद्ध एयरको उडानमार्फत पोखरा लगिने छ । हिरासतमा राख्नको लागि आवश्यक पर्ने मेडिकल रिपोर्ट पनि पोखरामै गराउने तयारी गरिएको पनि स्रोतको दाबी छ ।

सहकारी संस्था बचत दुरुपयोगसम्बन्धी संसदीय विशेष समितिले प्रतिवेदन बुझाएसँगै कारवाहीको ठगी प्रकरणमा डामिएकाहरुलाई कारबाही गर्ने बाटो खुलेको थियो । सहकारी रकम छानबिन संसदिय विशेष समितिले सहकारीहरूको रकम दुरुपयोग र अपचलनमा छविलाल जोशीलाई पनि कारबाही गर्नुपर्ने विषय प्रतिवेदनमा उल्लेख गरेको थियो ।

विभिन्न सहकारीको रकम ऋणको रूपमा निकाल्ने काममा जोशीको भूमिका रहेको समितिले उल्लेख गरेको थियो । सोही निर्णय कार्यान्वयनको क्रममा जोशी पक्राउ परेका हुन् ।

छानबिन प्रतिवेदन अनुसार, जीबी राई र छविलाल जोशीको आधा–आधा लगानीमा गोर्खा मिडिया नेटवर्क खोलेका थिए । त्यसभन्दा अघि नै उनीहरूले नेटवर्किङ व्यवसायमा साझेदारी गरेका थिए । जोशीले नै बयानमा आफ्नो १५ प्रतिशत सेयर घटाएर त्यो हिस्सा रवि लामिछानेलाई दिएको बताएका थिए ।

प्रतिवेदन अनुसार, छविले बुटवलको सुप्रिम सहकारीबाट दुई करोड ५० लाख रुपैयाँ ऋण लिएर गोर्खा मिडियामा लगानी गरेका थिए । वीरगन्जको सानो पाइला सहकारीबाट उनले एक करोड ८६ लाख रुपैयाँ ऋण लिएका थिए ।

सहकारी छानबिन समितिले जीबी राईसहित कुमार रम्तेल, रवि लामिछाने र छविलाल जोशीलाई प्रचलित कानुन अनुसार कारबाही गर्न सिफारिस गरेको थियो ।

‘‘निज सञ्चालकहरू अध्यक्ष गितेन्द्रबाबु राई र सदस्य कुमार रम्तेल तथा तत्कालीन प्रबन्ध निर्देशक रवी लामिछाने र सञ्चालक छविलाल जोशी कम्पनीमा साझेदारका रूपमा बहाल रहेको अवधिमा सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको हुँदा प्रचलित कानुनबमोजिम कारबाहीका लागि नेपाल सरकारलाई सिफारिस गर्ने,ू प्रतिवेदनमा भनिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार