सुदूरपश्चिमका ६ जिल्लामा फेरिए माओवादी इन्चार्ज, वर्षमान पक्षका नेताहरुको बाहुल्यता

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशका ६ जिल्लामा नयाँ इन्चार्ज खटाएको छ । संसदीय दलको नेता परिवर्तनपछि किचलो सामना गरिरहेको माओवादीले त्यसलाई साम्य बनाउनुको साटो उल्टै विवादलाई बल पुग्नेगरी नयाँ इन्चार्ज तोकेको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, महासचिव देव गुरुङ र प्रदेश इन्चार्ज गिरिराजमणि पोखरेलसँगको परामर्शमा नयाँ इन्चार्ज तोकेको हो । ‘हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश समितिका इन्चार्ज कमरेड गिरिराजमणि पोखरेलसँगको परामर्श र सुझावको आधारमा सुदूरपश्चिम प्रदेशमा रहेका पार्टी केन्द्रीय सदस्यहरूको जिम्मेवारी निम्नानुसार गरिएको यो पत्र जारी गरिएको छ सोही अनुसार गर्न गराउन हुन निर्देशन गरिन्छ’, अध्यक्ष र महासचिवले संयुक्त रुपमा हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नयाँ सर्कुलरअनुसार ९ जिल्लामध्ये ६ जिल्ला इन्चार्ज फेरिएका छन् भने ३ जिल्लाका इन्चार्ज दोहोरिएका छन् ।

नेकपा माओवादी केन्द्र कञ्चनपुरको इन्चार्जमा टेकेन्द्र भट्ट, बाजुरामा कर्ण बहादुर विश्वकर्मा र बैतडीमा नरेन्द्र कुँवर दोहोरिएका छन् । कैलालीमा नेपबहादुर चौधरीलाई इन्चार्जको जिम्मेवारी दिइएको छ ।

त्यहाँ यसअघि हरि ज्ञवाली इन्चार्ज थिए । डडेल्धुरामा जगत पार्कीलाई इन्चार्जबाट हटाएर कुन्ती जोशीलाई ल्याइएको छ । डोटीमा त्रिलोचन भट्टलाई इन्चार्जको जिम्मेवारी दिइएको छ । उनी सुदूरपश्चिमका पहिलो मुख्यमन्त्री पनि हुन् ।

यद्यपि, कञ्चनपुरमा इन्चार्ज रहेका भट्ट, बैतडीका कुँवर र बाजुराका विश्वकर्मा भने पहिला पनि तिनै जिल्लामा इन्चार्ज थिए । पहिला कैलालीमा हरि ज्ञवाली, डोटीमा शिवसिंह ओली, अछाममा झपट साउद, डडेल्धुरामा जगत पार्की, बझाङमा देवराज रेग्मी र दार्चुलामा लक्ष्मी विकले इन्चार्जको जिम्मेवारी सम्हालेका थिए ।

नयाँ जिम्मेवारी पाउनेमा यसपटक उपमहासचिव वर्षमान पुनपक्षका नेताहरुको बाहुल्यता रहेको देखिन्छ । अर्का उपमहासचिव जनार्दन शर्माको प्रभाव क्षेत्र मानिने सुदूरमा यसपटक उनलाई पन्छाएर पुन निकटले पकड जमाएका हुन् । नयाँ इन्चार्ज तोकिएका ९ मध्ये ५ जिल्ला डोटी, अछाम बाजुरा, दार्चुला र डडेल्धुरामा पुन निकट र २ जिल्ला कञ्चनपुर र बैतडीमा शर्मानिकट नेताले जिम्मेवारी पाएका छन् । त्यसबाहेकका दुई जिल्लामा भने वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव गुरुङनिकट एक÷एक जनाले जिम्मेवारी पाएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार