इरानबाट मेरो जीवन ‘ठूलो खतरा’मा छ : ट्रम्प

अमेरिकी पूर्वराष्ट्रपति तथा रिपब्लिकन राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पले इरानले आफ्नो जीवनमा ‘ठूलो खतरा’ उत्पन्न गरेको बुधबार बताएका छन् । 

अमेरिकी गुप्तचर निकायले तेहरानबाट ‘वास्तविक र विशिष्ट’ खतराको चेतावनी दिएको आफ्नो प्रचार टोलीले बताएपछि उनको उक्त भनाइ आएको हो । 

“इरानबाट मेरो जीवनमा ठूलो खतरा छ, सम्पूर्ण अमेरिकी सेनाले हेरिरहेको छ र प्रतीक्षा गरिरहेको छ,” उनले आफ्नो ट्रुथ सामाजिक प्लेटफर्ममा लेखेका छन्, “इरानले पहिला नै केही प्रयास गरेको थियो जुन सफल भएन तर फेरि उसले प्रयास गर्नेछ । म पहिला कहिल्यै नदेखेको जति धेरै मानिस, बन्दुक र हतियारले घेरिएको छु ।” उनले आफ्नो जीवनमा भएका दुई हत्या प्रयासपछि अमेरिकी गुप्तचर सेवाको बढ्दो निगरानीलाई उल्लेख गरे ।  

ट्रम्पको प्रचार टोलीले मंगलबार एक वक्तव्यमा अमेरिकी गुप्तचर निकायले ट्रम्पलाई इरानबाट उनको हत्या गर्ने ‘वास्तविक र विशिष्ट’ खतराको चेतावनी दिएको बताएको छ । 

प्रचार टोली र ट्रम्प स्वयंले उल्लेख गरेका यी खतराहरू नयाँ हुन् वा पहिले नै रिपोर्ट गरिएका खतराहरू हुन् भन्नेबारेमा तत्काल स्पष्ट भएको छैन । 

“आज राष्ट्रिय गुप्तचर निर्देशकको कार्यालयले राष्ट्रपति ट्रम्पलाई अमेरिकामा अस्थिरता र अराजकता फैलाउने प्रयासमा उहाँको हत्या गर्ने इरानको वास्तविक र विशिष्ट खतराका बारेमा जानकारी दिएको थियो,” प्रचार सञ्चार निर्देशक स्टिभन चेउङले विज्ञप्तिमा भने, “गुप्तचर अधिकारीहरूले यी निरन्तर र समन्वित आक्रमणहरू पछिल्ला  केही महिनामा बढेको पहिचान गरेका छन् र सबै एजेन्सीका कानून कार्यान्वय अधिकारीहरू राष्ट्रपति ट्रम्पको सुरक्षा र निर्वाचनलाई हस्तक्षेपबाट मुक्त राख्न काम गरिरहेका छन् ।”

प्रचार टोलीले यी दाबीबारे थप विस्तार गरेको छैन । विश्व नेताहरू इरान समर्थित हिजबुल्लाह र इजरायलबीचको शत्रुतालाई व्यापक क्षेत्रीय युद्धमा परिणत हुनबाट रोक्न प्रयासरत रहेका बेला यी दाबी आएका हुन् । 

यस गृष्ममा ट्रम्पको हत्या गर्ने प्रयास गरिरहेको भन्ने आरोपलाई इरानले अस्वीकार गरेको छ । पेन्सिल्भेनियामा भएको र्‍यालीमा एक बन्दुकधारीले गोली चलाएर एक व्यक्तिको मृत्यु र ट्रम्पलाई घाइते बनाएको घटनालगत्तै यो आरोप आएको हो ।

जुलाई १३ को हत्या प्रयासको केही दिनपछि अमेरिकी सञ्चारमाध्यमहरूले अधिकारीहरूले रिपब्लिकनविरुद्ध कथित इरानी षड्यन्त्रबारे खुफिया जानकारी प्राप्त गरेको र यसले उनको सुरक्षा बढाइएको बताएका थिए । इरानले यी ‘दुर्भावनापूर्ण’ आरोपहरूलाई अस्वीकार गरेको थियो । 

“यदि उनीहरूले ‘राष्ट्रपति ट्रम्पको हत्या’ गरे, जुन सधैँ सम्भावना छ, म आशा गर्छु कि अमेरिकाले इरानलाई नष्ट गर्नेछ, पृथ्वीको सतहबाट मेटाइदिनेछ– यदि त्यसो भएन भने अमेरिकी नेताहरूलाई ‘कायर’ मानिनेछ,” त्यसबेला ट्रम्पले आफ्नो सामाजिक मिडिया प्लेटफर्म ट्रुथमा लेखेका छन् । 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार