चट्याङ लागेर तीन जनाको मृत्यु, तीन घाइते

बुधबार चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिका र लालझाडी गाउँपालिकामा चट्याङ लागेर दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यस्तै घोराही उपमहानगरपालिकामा तीन वर्षीय बालकको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीका अनुसार दोधारा चाँदनी नगरपालिका–६ का ३४ वर्षीय यामबहादुर सुनारको चट्याङ लागेर मृत्यु भएको हो । रुखमा ओत लाग्ने क्रममा उनलाई चट्याङ लागेको हो । सोही घटनामा अर्का स्थानीय ३६ वर्षीय जगते सुनार भने घाइते भएका छन् ।

यस्तै आजै लालझाडी गाउँपालिका–१ की २८ वर्षीया हिरामती रानाको पनि चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरि घोराही उपमहानगरपालिका वडा नम्बर ११ खुङकोटका तीन वर्षीय समीर साहुको मृत्यु भएको छ । उनको उपचारका क्रममा बुधबार बिहान तुलसीपुरस्थित राप्ती प्रादेशकि अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले बताए ।

मंगलबार दिउँसो घरमै बसिरहेका बेला ४२ वर्षीया आमा निमकला साहु, ६ वर्षीया छोरी सविना र ३ वर्षीय छोरा समीर घाइते भएका थिए । उनीहरूलाई सुरूमा घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको थियो । बुधबार बिहान प्रतिष्ठानले तुलसीपुरको प्रादेशिक अस्पतालमा रिफर गरिदिएको थियो ।

अस्पताल पुर्‍याउनासाथ चिकित्सकले ३ वर्षीय समिरलाई मृत घोषणा गरेका थिए । आमा र छोरीको अवस्था मध्य रहेको चिकित्सकलाई उद्धत गर्दै प्रहरीले जानकारी दिएको छ। चट्याङले उनीहरूको शरीरका विभिन्न भागमा चोट लागेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार