एकदिवसीय क्रिकेटमा नेपालको वरियता खस्कियो

एकदिवसीय क्रिकेटको वरियतामा नेपाल एक स्थान तल झरेको छ । पछिल्लो समय लगातार खराब प्रदर्शन गरिरहेको नेपाल १७ औं स्थानमा झरेको हो ।

यसअघिको वरियतामा नेपाल १६ औं स्थानमा थियो । क्यानडामा पछिल्ला ४ मध्ये एक खेल रद्द भयो भने बाँकी सबै खेलमा पराजय व्यहोरेको छ । नेपाल ओमान र क्यानडासँग पराजित भएको हो ।

विश्वकप लिग २ मा नेपालले ८ खेल खेल्दा एक खेल मात्रै जितेको छ । ६ खेलमा पराजित भएको छ । लिग २ का ८ टोलीमा नेपाल सातौं स्थानमा छ । दुई खेल कम खेलेको युएईको एक अंक कम छ । बाँकी सबै टोली नेपालभन्दा अगाडि छन् ।

लगातारको खराब नतिजाले एकदिवसीय विश्वकप क्रिकेटमा छनोट हुने नेपालको सम्भावना कमजोर बन्दै गएको छ । नेपालले अझै बलिया टोलीको सामना गर्नै बाँकी छ । अब नेपालले अमेरिकामा घरेलु टोली र स्कटल्याण्डसँग खेल्ने छ । यो नेपालको तेस्रो सिरिज हो ।

विश्व वरियतामा भारत शीर्षस्थानमा कायम रहँदा नेदरल्याण्ड १४ औं स्थानमा यथावत छ । क्यानडाले भने एकै पटक चार स्थान सुधार गरेको छ । क्यानडाले नेपाल, नामिबिया, अमेरिका र ओमानलाई पछि पारेको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार