उत्तरी गोरखाको सामागाउँमा गाउँलेले रोके हेलिकप्टर उडान

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ सामागाउँमा रहेको हेलिप्याडमा ढुङ्गा र निलो झण्डा गाडेर सामागाउँका स्थानीयवासीले हेलिकप्टर ल्याण्ड गर्न नदिएर अवरोध गरेका छन् ।

बुधबार सामागाउँका स्थानीयले हेलिप्याडमा जम्मा भएर निषेधित क्षेत्र खुला गर्न माग राख्दै हेली उडानमा रोक लगाइएको सामागाउँका स्थानीय मिङमार लामाले जानकारी दिए । उनका अनुसार सम्बन्धित निकायमा पटक-पटक माग राख्दा सुनुवाइ नभएपछि बाध्य भएर हेली उडानमा रोक लगाएको उनले बताए ।

सरकारले उत्तरी गोरखामा निषेधित क्षेत्र खुला गरिदिन उत्तरी गोरखावासीको जायज मागलाई प्रधानमन्त्रीसम्मलाई डेलिगेसन र ज्ञापनपत्र बुझाउँदा समेत बेवास्ता गरेका कारण हेलिकप्टर उडानमा रोक लगाउनु परेको चुमनुब्री गाउँपालिका–१ समागाउँका वडाध्यक्ष कर्मा छेवाङ लामाले बताए ।

उत्तरी गोरखावासीलाई सरकारले निषेधित क्षेत्र घोषणापछि उत्तरी गोरखावासीहरू बिरामी हुँदा, सुत्केरी हुँदा इमरजेन्सी हुँदा समेत तत्काल हेली उडान अनुमति नपाउँदा उपचार नपाएर मृत्युवरण गर्नुपर्ने अवस्थाबाट गुज्रिनु पर्ने अवस्था अन्त्य गर्न हेली उडान अवरोध गर्नु परेको वडा अध्यक्ष लामाको भनाइ छ ।

‘गत असोज १ गते सम्बन्धित निकायमा हेली उडान पक्रिया सहज गर्नु पर्ने माग राख्दै ध्यानाकर्षण गराउँदै माग पुरा नभए हेली उडान रोक्ने भनेका थियौँ,’ ‘सम्बन्धित निकायले तपाईँहरूको माग लिखित रूपमा ल्याउनुस् भनेपछि गाउँ भेलबाट निर्णय गराएर लिखित रूपमा मागहरू गृहमन्त्रालय, गाउँपालिका र जिल्ला प्रशासन कार्यालय पठायौँ,’ उनले भने ।

पाँच दिनसम्म माग पुरा नभएपछि विरोध स्वरूप हेली उडान रोक्न बाध्य भएको वडा अध्यक्ष लामाले बताउनुभयो । उहाँका अनुसार उत्तरी गोरखावासीको माग पुरा नभएसम्म हेली उडान हुन नदिने सामागाउँका स्थानीयवासीको जिकिर छ ।

पर्यटक अलपत्र
स्थानीयले हेलिकप्टर उडानमा रोक लगाएपछि मनास्लु क्षेत्र पुगेका पर्यटकहरु अलपत्र परेका छन् । मनास्लु हिमाल आरोहण गरेर सामागाउँ आइपुगेका पर्यटकहरु प्राय हेलिकप्टरमा काठमाडौं फर्किने गर्छन् । तर हेलिकप्टर जान नपाएपछि पर्यटक काठमाडौं फर्कन पाएका छैनन् ।

पर्यटन विभागबाट अनुमति लिएका तीन सय आठ जना आरोही अहिले सहयोगीका साथमा मनास्लु बेसक्याम्पमा आरोहण अभ्यास गरिरहेका छन् ।

त्यस्तै यो हप्ता २ सय ४० जना विदेशी पर्यटक मनास्लु क्षेत्र भ्रमणमा गएको मनास्लु संरक्षण क्षेत्र एमक्यापको तथ्याङ्कमा उल्लेख छ । पर्यटकको चाप भएका बेला हेलिकप्टर उडान बन्द गर्दा समस्या भएको छ । हेलिकप्टमार्फत मनास्लु क्षेत्र आउन खोजेका पर्यटकहरु पनि स्थानीयको बन्दका कारण आउन पाएका छैनन् ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालले समस्या समाधानका लागि समन्वय भइरहेको बताए । ‘उहाँहरुको निर्णय हामीले माथि मन्त्रालयमा पठाइसकेका छौं’ उनले भने, ‘समस्या समाधानका लागि समन्वय पनि भइरहेको छ ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार