सर्लाहीमा कुवेतबाट फर्किएका युवकले गोली हानेर पत्नीको हत्या गरे, बुवा घाइते

सर्लाहीको हरिपुर्वा नगरपालिका ५ मा गोली चल्दा एक महिलाको मृत्यु भएको छ । छोराले प्रहार गरेको गोली लागेर युवकका बुवा पनि घाइते भएका प्रहरीले जनाएको छ ।

आज बिहान करिब पौने २ बजेतिर हरिपुर्वा नगरपालिका ५ का २७ वर्षीय धिरेन्द्र यादवले आफ्नी २३ वर्षीया पत्नी चित्रलेखा यादवको गोली हानेर हत्या गरेका हुन् । चित्रलेखाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

प्रहरीका अनुसार गोली लागेर मृतक चित्रलेखाका ससुरा ५४ वर्षीय रामदिनेश राय घाइते छन् । उनलाई बायाँ हातमा गोली लागेको छ । घाइते रायको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ ।

धिरेन्द्र एक महिनाअघि मात्रै वैदेशिक रोजगारी (कुवेत)बाट फर्किएको पाइएको प्रहरीले जनाएको छ । उनले पत्नीलाई हत्या गर्नुको कारण भने खुलेको छैन ।

प्रहरीका अनुसार कुवेतबाट फर्किएदेखि नै धिरेन्द्रले पत्नीसँग झगडा गरेका थिए । त्यसपछि घरमा २र३ दिन बसेर उनी भारततिर गएका थिए । त्यसयता घर नफर्किएका उनी गएराति मोटरसाइकलमा एकजनालाई साथमा लिएर घर आएका थिए ।

बुहारीलाई गोली प्रहार हुन थालेपछि छुट्याउने क्रममा ससुरालाई पनि गोली लागेको अनुमान प्रहरीले गरेको छ । गोली लागे पनि युवकका बुवाको अवस्था भने खतरामुक्त रहेको प्रहरीले जनाएको छ । घिरेन्द्र र चित्रलेखाका एक छोरी छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार