नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि प्रक्रिया अगाडि बढेको छ । यसअघि अन्तर्वार्ता र व्यावसायिक कार्ययोजनाको प्रस्तुतिकरणमा भाग नलिएका तीनजनालाई नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका निमित्त नाम सिफारिस गर्न गठित सिफासिस समितिले पुनः सूचना निकालेर असोज १८ गते बिहान ८ बजे बोलाएको छ ।
बिहीबार बिहान सूचना जारी गरी कृष्णबहादुर कार्की, चिरञ्जिवी चापागाईं र डा. नवराज अधिकारीलाई व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तरवार्ताका लागि मिति र समय निर्धारण गरी सहभागी हुन भनिएको हो ।
तीनजानाकै कारण बोर्डको अध्यक्ष नियुक्तिमा ढिलाइ भएको थियो । यसअघि सन्तोषनारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठले व्यावसायिक कार्ययोेजनाको प्रस्तुतीकरण र अन्तर्वार्ता दिइसकेका छन् । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको तत्कालीन सरकारले प्रक्रिया रद्द गरेर नयाँ प्रक्रिया थाल्न समितिलाई निर्देशन दिएको थियो । तर, सरकार परिवर्तन भएसँगै सन्तोषनारायणले सर्वोच्च अदालतमा रिट हालेका थिए ।
सर्वोच्चले सरकारलाई यो प्रक्रिया रद्द नगर्न र अहिलेको प्रक्रिया अनुसार नै बोर्डको अध्यक्ष नियुक्ति गर्न अन्तिरिम आदेश दिएको थियो । यहीअनुसार सर्ट लिस्टमा परेका पाँचजना मध्यबाट नै अध्यक्ष छनोट गर्न समितिले पहल गरेको छ ।
बोर्ड गत पुस २१ गतेबाट कार्यकारी अध्यक्षको भरमा छ । पूर्णकालीन अध्यक्ष नहुँदा बोर्डका कामकारबाहीमा प्रत्यक्ष असर परेको छ ।