पार्टीका सभापति पक्राउ पर्ने चर्चापछि चीन भ्रमण छोट्याएर फर्किए रास्वपाका नेता

चीन भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरू स्वदेश फर्किएका छन् । उपसभापति स्वर्णिम वाग्लेको नेतृत्वमा दश दिने भ्रमणका लागि भन्दै शनिबार राति चीन गएको टोली आज फर्किएको हो ।

गोर्खा मिडियाका तत्कालीन सञ्चालक पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेपछि सभापति रवि लामिछाने पनि पक्राउ पर्ने चर्चा चलेपछि नेताहरू फकिएका हुन् । आज ८ जना फर्किएको र बाँकी ६ जना भोलि फर्किने उपसभापति वाग्लेले बताए ।

आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उपसभापति वाग्लेले सांघाइ लगायतका शहरको आधुनिक प्रविधिको अवलोकन र प्राज्ञिक विचार विमर्श गरेको बताए । तर बेइजिङ पुग्ने कार्यक्रम भने स्थगित गरेको उनले जानकारी दिए ।

चिनियाँ कम्युनिस्ट पार्टीको निम्तो स्विकारेर उपसभापति डा. वाग्लेको नेतृत्वमा ७ सांसद र ७ गैरसांसदसहित १४ जनाको टोली शनिबार चीनका लागि उडेको थियो ।

भ्रमण टोलीमा उपसभापति वाग्लेसहित अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल, कोषाध्यक्ष लिमा अधिकारी, कार्यवाहक प्रवक्ता मनिष झा, नेताहरू गणेश पराजुली, तोसिमा कार्की, असिम शाह, शिव नेपाली, बसुमाया तामाङ, निशा मेहता, पुकार बम, प्रकाश विष्ट, तपेश्वर यादव र खुश्बु सरकार श्रेष्ठ रहेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार