महँगी ४.१० प्रतिशतमा सीमित

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना (साउन) मा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.१० प्रतिशतमा सीमित रहेको तथ्यांक सार्वजनिक भएको छ ।

अघिल्लो वर्ष साउनमा मुद्रास्फीति ७.५२ प्रतिशत थियो । खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि बढी भए पनि गैरखाद्य समूहको मूल्य कम बढ्दा मुद्रास्फीति नियन्त्रणमा देखिएको छ ।

नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन’ अनुसार साउनमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.१७ प्रतिशत देखिन्छ । गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति २.९४ प्रतिशतमात्र छ । अघिल्लो वर्ष साउनमा यी समूहको मुद्रास्फीति क्रमशः ८.९० र ६.६२ प्रतिशत थियो ।

खाद्य तथा पेय पदार्थभित्र पनि तरकारीको भाउ सबैभन्दा धेरै बढेको देखिन्छ । राष्ट्र बैंकका अनुसार तरकारी उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता सूचकांक १९.०७ प्रतिशतले बढेको छ ।

दाल तथा गेडागुडीको १२.०९, खाद्य तथा खाद्यजन्य पदार्थको ९.१५ प्रतिशत, दुग्ध पदार्थ तथा अन्डाको ३.३६ प्रतिशतले बढेको छ । मरमसला उपसमूहको मूल्य भने २.७५ प्रतिशतले मात्र बढेको देखिन्छ ।

गैरखाद्य र सेवा समूह अन्तर्गत सबैभन्दा धेरै विविध वस्तु तथा सेवा उपसमूहको मूल्य धेरै ७.९४ प्रतिशतले बढेको छ । मदिरा ५.३८, कपडा तथा जुत्ताचप्पल ४.४८ र सुर्तीजन्य वस्तुको ३.५२ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ४.२८ प्रतिशत र सहरी क्षेत्रको ४.०३ प्रतिशतले बढेको छ । प्रदेशगत हेर्दा कोसीको ४.६१, मधेश ४.१७, बागमती ३.४९, गण्डकी ३.९०, लुम्बिनी ३.८१, कर्णाली ३.४६ र सुदूरपश्चिमको ६.६९ प्रतिशतले बढेको छ ।

काठमाडौं उपत्यकामा ३.६२, तराई ४.४९, पहाड ३.६७ र हिमालमा ४.५३ प्रतिशत महँगी बढेको छ ।

राष्ट्र बैंकले प्रकाशन गर्दै आएको उपभोक्ता मूल्य सूचकांकको आधार वर्ष अब २०८०/८१ कायम गरिएको छ । यसअघि आधार वर्ष २०७१/७२ थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार