पूर्व रक्षामन्त्री इशिबा जापानको प्रधानमन्त्री बन्ने

सत्तारूढ पार्टीको नेतृत्वका लागि भएको मतदानमा विजयी भएपछि पूर्व रक्षामन्त्री शिगेरु इशिबा जापानको आगामी प्रधानमन्त्री बन्ने आधिकारिक मतगणनाले देखाएको छ ।

सतसठ्ठी वर्षीय रेलप्रेमी इशिबाले मुलुकको पहिलो महिला नेता बन्ने दौडमा रहेकी कट्टर राष्ट्रवादी सनाए ताकाइचीलाई एक सय ९४ विरुद्ध दुई सय १५ मत ल्याएर पराजित गरे ।

टोक्योमा लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) को मुख्यालयमा आफ्नो विजय घोषणा भएपछि इशिबाले मुस्कुराउँदै आफ्नो चस्मा फुकालेर आँसुले भरिएका आँखा पुछे र आफ्ना सहयोगीहरूले बधाई दिँदा बारम्बार शिर झुकाए ।

“म जनतामा विश्वास गर्न, साहस र इमान्दारीका साथ सत्य बोल्न र यस मुलुकलाई पुनः एकपटक सबैजना मुस्कानसहित बस्न सक्ने सुरक्षित स्थान बनाउन पूरा कोसिस गर्नेछु”, आफ्नो संक्षिप्त सम्बोधनमा उनले भने ।

इशिबा पहिले पनि शीर्ष पदको नजिक पुगेका थिए । सन् २०१२ मा उनी राष्ट्रवादी शिन्जो अबेसँग पराजित भएका थिए । अबे जापानको सबैभन्दा लामो समयसम्म सेवा गर्ने नेता थिए र पछि उनको हत्या गरिएको थियो ।

जापानमा एलडिपीले दशकौँदेखि करिब निरन्तर शासन गरेको छ र बहुमत कायम राखेको छ । यसको अर्थ इशिबालाई मङ्गलबारसम्म संसद्ले प्रधानमन्त्री चुन्नेछ ।

सन् १९७० को दशकमा पप आइडलहरूप्रति झुकाव राख्ने सैन्य मोडल निर्माता इशिबाले कृषि सुधारजस्ता कठिन मुद्दाहरू सम्हाल्ने आफ्नो अनुभवले आफूलाई यो पदका लागि योग्य बनाएको बताएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार