भरिन लाग्यो कुलेखानी जलाशय, तल्लो तटमा सतर्कता अपनाउन आग्रह

कुलेखानी जलविद्युत आयोजनाको जलाशय ईन्द्रसरोवर तालको बाँध भरिन लागेपछि सतर्कता अपनाउन आग्रह गरिएको छ ।

कुलेखानी ड्याम केही घण्टामा भरिने स्थिति देखिएको र बाँधको सुरक्षालाई समेत मध्यनजर गरी ड्यामका ढोका खोल्नुपर्ने अवस्था सिर्जना हुनसक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको हो ।

कुलेखानी प्रथम जलविद्युत केन्द्र, मकवानपुरका प्रमुख तारादत्त भट्टले सूचना जारी गर्दै यस्तो आग्रह गरेका हुन् ।

बिहीबारदेखि आएको अविरल वर्षाका कारण जलाशय भरिन लागेको केन्द्रले जनाएको छ । कुलेखानी बाँधदेखि तल सिस्नेरी हुँदै बागमती नदी किनाराका बस्तीहरूमा एक्कासी बाढी आउन सक्ने अवस्था देखिएको भट्टले बताए ।

कुलेखानीदेखि तलका तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूले उच्च सतर्कता अपनाउनु हुन र प्रतिकार्यमा खटिने सुरक्षाकर्मीहरू एवम् स्वयंसेवकहरू समेत हाइ एलर्टमा बस्नुहुन अनुरोध गरिन्छ सूचनामा भनिएको छ ।

साथै मकवानपुर जिल्ला विपत् व्यवस्थापन समिति र सम्बन्धित पालिकाका स्थानीय विपत् व्यवस्थापन समितिहरूले समेत सोही अनुसार सुरक्षित स्थानको पूर्वतयारी गर्न सूचनामा अनुरोध गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार