तीन दिनसम्म पनि राजमार्ग नखुलेपछि यात्रुहरु पैदलै फर्कन थाले (भिडियो)

अविरल वर्षाका कारण आएको बाढी र पहिरोबाट वीपी राजमार्ग अवरुद्ध भएपछि यात्रुहरु पैदलै फर्कन थालेका छन् ।

काभ्रेको पात्लेखेतदेखि नेपालथोकसम्मको विभिन्न स्थानको सडक अवरुद्ध भएपछि फसेका यात्रुहरु पैदलै फर्कन थालेका हुन् । तीन दिनसम्म पनि सडक खुल्न नसकेपछि बाध्य भएर पैदलै फर्किनुपरेको यात्रुहरुले गुनासो गरेका छन् । उनीहरुले सडक खोल्नका लागि ढिलाई भएको गुनासो समेत गरेका छन् ।

३ दिनसम्म बाढी र पहिरोले सडक अवरुद्ध भएपछि राजमार्गमा फसेर पैदलै फर्केका यात्रुहरुले सहज रुपमा पानी खाना समेत नपाएको जनाएका छन् ।

आइतबार नेपाली सेनाको हेलिकप्टरले वीपी राजमार्गका विभिन्न ठाउँबाट करिब २०० जनाको उद्दार गरेको थियो । तर एक हजार भन्दा बढी सर्वसाधारण त्यस क्षेत्रमा अलपत्र परेकाले उनीहरु हिँडेर काठमाडौं फर्किनुको विकल्प भएन ।

काभ्रेको १३ वटा स्थानीय तहमध्ये रोशी गाउँपालिका, पनौती नगरपालिका, तेमाल गाउँपालिका र बेथानचोक गाउँपालिका धेरै बाढी र पहिरोबाट प्रभावित भएका छन् । राजमार्गमा सयौं यात्रुहरु बिचबाटोमै ३ दिनदेखि अलपत्र परेका छन् ।

बाढी, पहिरोबाट प्रभावित र राजमार्ग अलपत्र अवस्थामा रहेका यात्रुहरुलाई उद्धार गर्नको लागि आइतबार बिहानबाट नेपाली सेनाले खाद्य रासन हेलिकप्टरमार्फत उपलब्ध गराएको थियो । काभ्रेमा मात्रै बाढी पहिरोबाट मृत्यु हुनेको संख्या ५४ पुगेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार