दाउन्नेमा भासियो सडक, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको दाउन्नेमा सडक भासिँएको छ । सडक भासिएपछि राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी डीएसपी रेशम बोहोराले बताए ।

उनका अनुसार बर्दघाट नगरपालिका – ४ दाउन्ने जंगलस्थित खुर्सानीखोलामा सडक भासिएपछि सवारी आवागमन ठप्प भएको हो ।

सडकको माथिल्लो भागमा रहेको पर्खाल भत्किएपछि विद्युत हाइटेन्सन लाइन सडकमा ढलेको थियो । उक्त पोल हटाउने प्रयास गर्दागर्दै सडक भासिएपछि राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको हो ।

सोमबार साँझ ५ बजेपछि अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेपनि तत्काल सम्भव नभएको प्रहरीले जनाएको छ । सडक डेढ फिट भासिएको र बाँकी भाग पनि चर्किएकाले मर्मत सम्भारका लागि सडक डिभिजन कार्यालय चितवन र विद्युत प्राधिकरणसंग समन्वय भइरहेको डीएसपी बोहराले बताए ।

सडक अवरुद्ध भएपछि नारायणगढबाट आउँदै गरेका सवारी साधनलाई दुम्कीबास र बुटवल तर्फबाट जाँदै गरेका सवारी साधनलाई बर्दघाटमा रोकिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार