दसैँको अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारीमा व्यवसायी

यातायात व्यवसायीले सार्वजनिक बसको अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी गरेका छन् ।

यातायात व्यवस्था विभागको समन्वयमा यातायात व्यवसायीहरूले गत शनिबार (१२ असोज) देखि अग्रिम टिकट बुकिङ खुला गरेका थिए । तर, बाढीपहिरोले बिग्रिएका सडकमा गाडी चलाउन सकस भएको भन्दै व्यवसायीले बुकिङ बन्द गर्ने तयारी गरेका छन् ।

सबै सडक अवरुद्ध भएकाले काठमाडौँबाट यात्रु लिएर गन्तव्यतिर जाने अवस्था नभएकाले अग्रिम टिकट बुकिङ बन्द गर्न लागिएको यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताए ।

सोमबार पृथ्वीराजमार्ग हुँदै गएका गाडी र यात्रु बीच बाटोमै अलपत्र परेकाले अग्रिम टिकट काटेर बस गुडाउन सक्ने अवस्था नरहेको उनको भनाई छ । उनले बीचबाटोमै अलपत्र परेका गाडीका चालक र सहचालकले नै पानी र खाना नपाएको गुनासो आएको बताए ।

‘टिकट काटेर के गर्नुरु यात्रुलाई गन्तव्यमा पुर्याउन नपाएपछि पैसा फिर्ता गर्नुपर्छ,’ उनले भने, ‘घटस्थापनाबाटै यात्रुको भिड हुन्छ । गएको बस फिर्ता नआए कसरी यात्रु लैजाने ?’

आज महासंघको बैठक बसेर यस विषयमा सरकारसँग छलफल गर्ने उनले बताए ।

धेरै यात्रुहरूले १७ असोजदेखिको टिकट बुकिङ गरिसकेका छन् । बस सञ्चालनबारे के गर्ने भन्ने विषयमा पनि आजको छलफलबाट निष्कर्ष निस्किने वरिष्ठ उपाध्यक्ष सिटौलाले बताए । ‘१७ गतेदेखिका लागि धेरैले टिकट बुकिङ गरेका छन्,’ उनले भने, ‘यसबारे के गर्ने भन्नेबारे सरकारसँग छलफल हुन्छ । साँझ विज्ञप्तिमार्फत जानकारी गराउँछौं ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार