सरकारले ४ हजारभन्दा बढीको ज्यान जोगाएको छ, केही गर्दै नगरेको होइन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले ४ हजारभन्दा बढी बाढीपहिरो पीडितलाई सरकारले उद्धार गरेको भन्दै त्यो कुरा पनि ख्याल गर्न आग्रह गरेका छन्।

‘४ हजारभन्दा बढी मान्छेलाई रेस्क्यु नगरेको भए उहाँहरू बाँच्न सक्नुहुँदैनथियो। उहाँहरूको जीवन जोगाएको छ। यो कुरा पनि देख्नुपर्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘केही गर्दै नगरेको होइन। सक्दो गरेको छ। केही कमजोरी भएका छन्, त्यसलाई आगामी दिनमा सच्याउनुपर्छ।’

उनले राज्यले यस प्रकारको वर्षा होला र क्षति होला भन्ने कुरा सरकारको अनुमान नभएको बताए।

‘सरकारले गरेको पूर्वतयारीको कुराहरू यसअघिका अनुसार नै हुन्छ। ठूलै विपत्ति आइलाग्यो,’ प्रधानमन्त्री ओलीले भने।

अहिलेको बेला पूर्ण रुपमा उद्धार र राहतमा लाग्नुपर्ने बेला भएको बताए।

‘यो बेला जनताले भोगिरहेको पीडामा उद्धार, राहत, सहयोग, पुननिर्माणका कामहरू गर्ने हो। यतिबेला यस्ता कुराहरूमा हामी नेपालीहरू सबै एक हुनुपर्छ। एक भएर साझा विपत्तिको सामना गर्नुपर्छ। यो विपत्तिले कुनै राजनीतिक रङ र पेसा छुट्याएर मर्का पार्दैन। यो साझा पीडा हो,’ प्रधानमन्त्री ओलीले भने।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार