सीटीको पहिलो जित, स्लोभान ब्राटिस्लाभा ४–० ले पराजित

फिल फोडेनको एक गोल र एक असिस्ट प्रदान गरेपछि म्यानचेस्टर सीटीले यूईएफए च्याम्पियन्स लिगमा पहिलो जित दर्ता गरेको छ ।

मंगलबार राति भएको खेलमा सीटीले स्लोभान ब्राटिस्लाभामाथि ४–० को फराकिलो जित निकालेको हो ।

जितसँगै दुई खेलबाट ४ अंक बनाएको सीटी अंक तालिकाको चौथो स्थानमा छ । पहिलो हाफको आठौँ मिनेटमा इल्के गुन्डोगनको गोलमा सीटीले सुरुवाती अग्रता बनाएको थियो ।

खेलको १५ औँ मिनेटमा फोडेनको गोलमा सीटीले अग्रता दोब्बर पारेको थियो । पहिलो हाफमा २–० को अग्रता बनाएको सीटीले दोस्रो हाफमा थप २ गोल गर्यो ।

खेलको ५८ औँ मिनेटमा एर्लिङ हालान्डको गोलमा सिटीले फराकिलो अग्रता बनाएको थियो ।

खेलमा एक पक्षिय दबाब बनाएको सिटीका लागि ७४ औँ मिनेटमा वैकल्पिक खेलाडीका रुपमा मैदान छिरेका जेम्स म्याकटीले थप १ गोल थपे । २१ वर्षीय म्याकटीले सिटीका लागि पहिलो गोल गरेका हुन् ।

स्लोभान ब्राटिस्लाभा पहिलो पटक च्याम्पियन्स लिगका लागि छनोट भएको हो ।

गएराति कै खेलमा आर्सनलले पिएसजीलाई २–० गोलले पाखा लगायो । अर्को खेलमा बायर लिभरकुसेनले एसी मिलानमाथि १–० को जित दर्ता गर्यो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार