सेयर बजारको उत्साह एक दिन पनि टिकेन, बजार २५ सयमा झर्‍याे नेप्से

मंगलबार एकाएक उछाल देखिएको सेयर बजारले फेरि ओरालो यात्रा तय गरेको छ । आज नेप्से परिसूचक २६.०७ अंकले घटेर २५९७.४९ विन्दुमा पुगेको छ । अघिल्लो दिन नेप्से परिसूचक ११४ अंकले बढेर २६२३.५६ विन्दुमा पुगेको थियो । सो दिन ७ अर्ब माथिको कारोबार भएको थियो ।

नेप्से घटेसँगै कारोबार रकम पनि मंगलबारको तुलनामा घटेको छ । यसदिन ३१० स्क्रिप्सको १ करोड ५१ लाख ९९ हजार ७६३ कित्ता सेयर ६ अर्ब ७७ करोड ८१ लाख ९५ हजार ८८१ रुपैयाँमा खरिदबिक्री भए । आज एउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो । थ्री स्टार हाइड्रोपावरको सेयर १० प्रतिशतले बढ्यो ।

स्वरोजगार लघुवित्त वित्तीय संस्थाको सेयर ९.९६ प्रतिशतले बढ्दा इस्टर्न हाइड्रोपावरको ९.४५,अपर हेवाखोला हाइड्रोपावरको ८.०२ र नवील ब्यालेन्स फण्ड(२ को ७.९१ प्रतिशतले बढ्यो । यसदिन विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने गुमाए । सो कम्पनीको सेयर १० प्रतिशतले ओरालो लाग्यो। न्यादी हाइड्रोपावरको सेयर ९.२० प्रतिशतले घट्यो ।

कारोबार रकमका आधारमा यसदिन नेपाल फाइनान्स शीर्षस्थानमा रह्यो । सो कम्पनीको २० करोड ७१ लाख मूल्य बराबरको सेयर कारोबार भयो । यसैगरी हिमालयन रिइन्स्योरेन्सको १७ करोड मूल्य बराबरको कारोबार हुँदा गुडविल फाइनान्स, नेपाल बैंकको १५र१५ करोड मूल्यको सेयर कारोबार भयो ।

शिवम् सिमेन्टको भने १३ अर्ब बराबरको सेयर कारोबार भयो । कारोबारमा आएका ५४ स्टक्सको मूल्य बढ्दा १८७ वटाको घट्यो । यसदिन ३ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो । फाइनान्स समूहको परिसूचकबाहेक अन्यको सूचक नकारात्मक देखिएका छन् । फाइनान्स समूहको उपसूचक १.७५ प्रतिशतले बढ्यो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार