विराटनगर भन्सार परिसर तनावपूर्ण, १० सेल अश्रुग्यास प्रहार

विराटनगर महानगरपालिका–१८ स्थित विराटनगर भन्सार कार्यालय (आईसीपी) परिसर तनावपूर्ण बनेको छ । भन्सार कार्यालय जाने सडकमा ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु भएपछि स्थानीय आन्दोलित बनेका हुन् ।

आक्रोशित भिडले भन्सार कार्यालयलाई लक्षित गरेर शुक्रबार बिहान ढुंगामुढा गरेको छ । भन्सार कार्यालय तोडफोडको प्रयास भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीले १० शेल अश्रुग्यास प्रहार गरेर स्थितिलाई नियन्त्रणमा लिइएको बताए ।

उनका अनुसार विराटनगर–१८ स्थित आईसीपी रोडमा ट्रकको ठक्करबाट बिहीबार साँझ एक जना साइकलयात्रीको मृत्यु भएको थियो । त्यसको विरोधमा स्थानीयले आज भन्सार कार्यालयमा ढुंगामुढा गरेका हुन् । ट्रकको ठक्करबाट विराटनगर–१८ लवाघाटका ६० वर्षीय श्याम साहको मृत्यु भएको हो । विराटनगरबाट आईसीपीतर्फ जाँदै गरेको ना ४ ख २४८३ नम्बरको ट्रकले सोही दिशातर्फ साइकलमा जाँदै गरेका साहलाई साँझ पौने ७ बजेतिर ठक्कर दिएको थियो ।

गम्भीर घाइते उनलाई इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर प्रकाश थापा नेतृत्वको टोलीले उपचारका लागि विराट नर्सिङ होम पठायो । अस्पताल पुर्‍याउनसाथ चिकित्सकले मृत घोषित गरिदिए । ट्रकको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि ट्रक र चालक सुनसरीको बर्जु गाउँपालिका–५ का ३० दीपक यादवलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

ट्रक चालकको लापर्बाहीले दुर्घटना भएको भन्दै आफन्तले शव बुझ्न मानिरहेका छैनन् । दुर्घटनापछि बिहीबार साँझ विराट नर्सिङ होसमा समेत तनाव भएको थियो । शुक्रबार बिहान आक्रोशित भिडले भन्सार कार्यालयलाई लक्षित गरेर ढुंगामुढा गरेको मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीले बताए ।

ढुंगामुढाबाट भन्सारको गेट र भवनमा सामान्य क्षति पुगेको छ । अहिले पनि मृतकको शव अस्पतालमै छ । परिवारका सदस्य र आफन्तले बुझ्न अस्वीकार गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार