क्याबिन क्रुको उमेर हद ५० वर्ष पुर्‍याउने निर्णय

सरकारले विमान क्याबिन क्रु (परिचारकरपरिचारिका)को ४५ वर्षे उमेर हदलाई ५० वर्ष पुर्‍याउने भएको छ ।

शनिबार ४५ वर्षे उमेर हद हटाउन माग गर्दै आन्दोलनरत क्याबिन क्रु सदस्यहरुसँग छलफलपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले निगमलाई ४५ वर्षको उमेर हदलाई ५० बनाएर अघि बढ्न निर्देशन दिएका हुन् ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री पाण्डेले क्याबिन क्रु मेम्बरहरुले आफूहरुमाथि भेदभाव भएको, आफूहरुलाई विभिन्न सेवा, सुविधाबाट बञ्चित गरिएको, आफूहरूको सुनुवाई नभएको विषय राखेकोमा सरकारले गम्भीरतापूर्वक लिएर समस्या समाधान गरेको बताए ।

‘४५ वर्षको उमेर हदलाई ५० वर्ष पुर्‍याउने कुरामा कुनै समस्या हुँदैन, किनभने नेपालका सन्दर्भमा हाम्रो औषत आयु पनि बढेको अवस्था छ। उहाँहरुले विभिन्न अनुभव र तालिम गर्नुभएको हुन्छ, निगममा निगमका विभिन्न तालिमका माध्यमबाट लगानी ठूलो भइसकेको हुन्छ । ५ वर्ष अनुभवी एयरहोस्टेजले सेवा दिँदा देशलाई, निगमलाई राम्रै गर्छ भन्ने निष्कर्ष छ । ४५ को उमेरहदलाई ५० मा पुर्‍याउने निष्कर्षमा पुगेका छौँ । त्यो गर्नुस् भनेर निगमको व्यवस्थापनलाई भनेका छौँ। सबै प्रकारका आन्दोलनका कार्यक्रमहरू स्थगित गर्ने र काममा फर्किने जनाउनुभएको छ,’ मन्त्री पाण्डेले भने ।

उनले अदालतमा रहेको मुद्दाका बारेमा महान्यायाधिवक्ता कार्यालयसँग राय लिएर अघि बढ्ने निष्कर्ष बैठकले निकालेको बताए ।

मन्त्री पाण्डेले नेपालका सन्दर्भमा अहिले औसत आयु बढेको र विभिन्न अनुभव र तालिममा गरिएको लगानीलाई हेर्दा पनि उमेर हद ५० वर्ष पुर्‍याउँदा फाइदा हुने पनि बताए ।

मन्त्रालयसँगको सहमतिसँगै छलफलमा सहभागी विमान परिचारक÷परिचारिकाहरु आन्दोलनका कार्यक्रम फिर्ता लिएर काममा फर्किने प्रतिवद्धतासहित फर्किएको मन्त्री पाण्डेले जानकारी दिए ।

क्याबिन क्रुको हड्तालका कारण नेपाल वायुसेवा निगमको शुक्रवार राति साढे ११ बजेको काठमाडौं–दुबई उडान रद्ध भएको थियो।जसकारण ३ सय २८ यात्रु अलपत्र परेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार