बिग्रिएर रोकेको जिप ब्याक भएर दुर्घटना हुँदा दुई जनाको मृत्यु

हुम्लाको ताजाँकोट गाउँपालिका–२ पुईमामा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

शनिबार दिउँसो कर्णाली करिडोर हुम्लाको सर्केगाड गाउँपालिका सर्केगाड बजारबाट बाजुरातर्फ जाँदै गरेको लु१ज ३०४३ नम्बरको जिप दुर्घटनामा परेको हो । मृत्यु हुनेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-२० राजा बस्ने ४९ वर्षीया विष्णु परियार र हुम्लाको चंखेलि गाउँपालिका-६ का ५ वर्षीय अविशेक बुढा रहेका छन् ।

जिपको गियर बक्स बिग्रेर रोकेको अवस्थामा सडकबाट ब्याक भई ३०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक सुरेश सुवेदीले जानकारी दिए ।

उक्त जिपमा चालक सहित सात जना सवार थिए । गियर बक्स बिग्रेपछि पाँचजना गाडीबाट झरेर जिप बनाइरहेका थिए । तर, मृतक दुईजना गाडीमै थिए ।

बुढा विष्णुसँग नेपालगञ्ज मामा घरमा दसैँ मान्न जान लागेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार