खाद्यले आजदेखि खसीबोका र च्याङ्ग्रा बेच्दै, मूल्य कति ? (भिडियो)

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि खसीबोका र च्याङ्ग्राको बिक्री खुला गरेको छ ।

कम्पनीले प्रतिकेजी खसीबोकाको ६७० रुपैयाँ मूल्य निर्धारण गरी १० रुपैयाँ छुट दिएर प्रतिकेजी ६६० रुपैयाँ बिक्री खुला गरेको हो  । यस्तै च्याङ्ग्रा प्रतिकेजी एक हजार २३० रुपैयाँ मूल्य निर्धारण गरी १० रुपैयाँ छुट दिएर एक हजार २२० रुपैयाँ बिक्री खुला गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका सहायक विभागीय प्रबन्धक ज्ञानु थापाले शनिबारसम्म २०८ खसीबोका र तीन सय च्याङ्ग्रा भित्रिसकेको जानकारी दिइन् । हेटौँडाबाट पहिलो लटमा २०८ खसीबोका आइपुगेको र बाँकी बाटोमा आउने तयारीमा रहेको उनको भनाई छ । च्याङ्ग्रा भने मुस्ताङबाट ल्याइएको छ ।

चाडपर्वमा उपभोक्तालाई सुपथ मूल्यमा बिक्री गर्न प्रत्येक वर्ष कम्पनीले खसीबोका र च्याङ्ग्रा खरिद गरेर बिक्री गर्ने गर्छ । यसपालि दसैँमा कम्पनीले एक हजार एक सय खसीबोका र तीन सय च्याङ्ग्रा ल्याउने योजना बनाएको छ ।

निजी व्यवसायीले भने घटस्थापनाको दिनदेखि खसीबोका ल्याएर बिक्री सुरु गरिसकेका छन् । दसैँमा ठुलो सङ्ख्यामा खसीबोकाको खपत हुने हुँदा व्यवसायीले विभिन्न जिल्लाबाट खसीबोका खरिद गरी उपत्यकामा ल्याएर बिक्री गर्ने गर्छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार