सिन्धुपाल्चोकको लार्चामा डाईभर्सन बनाएर सडक सुचारु (भिडियो)

बाढीका कारण भोटेकोशी नदीले सिन्धुपाल्चोकको लार्चास्थित बेलिब्रिज बगाउँदा अवरुद्ध बनेको अरनिको राजमार्ग सुचारु भएको छ ।

लार्चामा अस्थायी डाईभर्सन निर्माण भएसँगै सवारी साधनहरू सुचारु भएको हो । निरन्तर वर्षापछि आएको बाढीले गत शनिबार बेलिब्रिज बगाएको थियो । अरनिको राजमार्गको तातोपानी नाका अन्तर्गत पर्ने लार्चा खोलामा भोटेकोशी गाउँपालिकाले डाईभर्सन बनाएको हो । डाईभर्सन नजिकै सर्वसाधारणलाई पैदल आवत जावत गर्नका लागि बाँसको अर्को अस्थायी पुल समेत बनाइएको छ ।

डाईभर्सनको स्थलगत निरीक्षण गर्दै सिन्धुपाल्चोकका सांसद मोहन बहादुर बस्नेत लगायतका स्थानीय जनप्रतिनिधिहरूले पक्की पुल निर्माणको लागि सम्बन्धित निकाय गम्भीर हुनुपर्ने जनाएका थिए । सांसद बस्नेतले बाढी पहिरोका कारण अरनिको राजमार्गका अन्य स्थानमा पनि ठूलो क्षति भएको भन्दै अधिकांश स्थानमा सडक खुलाइसकेको बताए । त्यस्तै खागदलमा बेलिब्रिज बगाएको स्थानमा पनि नयाँ बेलिब्रिज राख्ने काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिए ।

यसअघि भूकम्प र बाढीपछि नाका खुलाउन पहल भइरहेका बेला २०७३ असारमा भोटेकोशी बाढीले सडक र सीमा क्षेत्रका बस्ती बगाएको थियो । ०७४ मा लार्चाको मोटरबेल पुल बगाएपछि बेलिब्रिज हालिएको थियो । उक्त लार्चाको बेलिब्रिज हालैको बाढीले बगाएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार