थप ५७ वटा हिमाललाई आरोहणका लागि खुला गर्ने सरकारको निर्णय

सरकारले थप ५७ वटा हिमालहरूलाई आरोहणका लागि खुला गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ती हिमालमा आरोहण गतिविधि गर्न अनुमति दिने गरी खुला गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङका अनुसार धेरै हिमाल पर्वतारोहणका लागि खुला नभएको अवस्थामा थप ५७ हिमालमा आरोहण खोल्ने निर्णय भएको हो ।

गुरुङले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेका थप हिमालहरुको आरोहणका लागि अनुमति दिने निर्णय पनि गरिएको बताए।

‘नेपालमा हिमालै हिमालको देश भनिएपनि अझै पनि हाम्रा धेरै हिमालहरू पर्वतारोहणका लागि खुला गरिएको छैन । यस पटक नेपाल सरकारको यो निर्णयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेका हिमालहरूको आरोहणका लागि थप ५७ वटा अहिलेसम्म खुला नभएका हिमालहरुलाई आरोहणका लागि खुला गर्ने निर्णय गरेको छ,’ प्रवक्ता गुरुङले भने ।

यसअघि गत असारमा पर्यटन विभागले ती हिमाल आरोहण खुला गर्न मन्त्रालयमा सिफारिस गरेको थियो । सिफारिस गरिएका हिमालमा ६ हजार मिटरबाट माथि ६ हजार ५ सय मिटरसम्म उचाइका छन् ।

यसपालि पूर्व ताप्लेजुङदेखि पश्चिम डोल्पा र हुम्लासम्मका चुचुरो आरोहणका लागि खुला भएका हुन् । यसअघि नेपालमा ४ सय १९ हिमाल चुचुरा आरोहणमा खुला भइसकेका छन् । जसमा सर्वोच्च शिखर सगरमाथादेखि ८ हजार मिटर उचाइका सबै हिमाल पर्छन् ।

सम्बन्धित समाचार