दशैंका बेला विदेश उड्नुपर्ने बाध्यता

काठमाडौं । ‘एक दिन मात्रै भए पनि बिदा थपिदिनुस् न त दशैंको टीका लगाएर प्लेन चढ्छु भनेको थिएँ, मलेसियाबाट कम्पनी साहुले बरु जागिर छाड्न सक्छौ बिदा थप्न मिल्दैन भन्यो, मेरा लागि अहिले दशैं र परिवारभन्दा जागिर प्यारो भयो’, सर्लाहीका अजय मेहताले भने ।

दशैंको अघिल्लो दिन घरबाट केही थान कपडा बोकेर वैदेशिक रोजगारीमा हिँडेका मेहताका लागि यो बाध्यता रह्यो ।

शुक्रबार साँझपख बोर्डिङ पास लिनु अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनलको भीडमा भेटिएका मेहताका लागि दशैंको अघिल्लो दिन घर छाड्नु निकै कष्टकर भयो । सर्लाहीको घरमा हिजो गर्भवती श्रीमती चाँदनीदेवी र आमा उर्मिलादेवीले रुँदै हात हल्लाएर बिदा गरेको क्षण सम्झँदै गर्दा उनका पनि आँखा टिल्पिलाए ।

मेहताको जस्तै पीडा सिराहाका घनश्याम यादवको पनि छ । दशैंको टीका र अभिभावकको आशीर्वाद लिएर विमानमा बस्ने योजना समय र परिस्थितिले पूरा हुन दिएन । ‘दशैं मनाएरै जान्छु भन्ने त थियो तर मेरो रहरलाई बाध्यताले जित्यो’ उनले भने ।

वैदेशिक रोजगारीका लागि साउदी हिँडेका यादवका अनुसार कम्पनीले दुई महिनाको छुट्टी दिएको थियो । तर दुई महिनाको लामो छुट्टीमा पनि दशैं एक दिनले अट्न सकेन । ‘कम्पनीममा फोन गरेर बिदा लम्बाउन सकिन्छ कि भन्र ट्राइ गरेको हो नि, तर मिलेन, उनीहरुलाई हाम्रो दशैंको महत्व थाहा नभएर पनि हुनसक्छ’, उनले भने ।

दशैंको अघिल्लो दिन विमानस्थलको भीडमा धनुषाका विनयकुमार यादव पनि भेटिए । विमान चढ्नुअघि सम्झनाका लागि केही थान तस्बिर लिँदै गरेका उनी पनि कामको सिलसिलामा साउदी अरब हिँडेका रहेछन् । महान पर्व दशैंका बीचमा परिवार र आफन्त छाड्नुपर्दाको पीडा उनको मनमा पनि गडेर बसेको छ । ‘अरु दशैंमा घर आउँछन्, हामी दशैंमा घर छाड्नु परेको छ । यो हाम्रो बाध्यता भयो, यहाँ म जस्ता हजारौंको पीडा पनि उस्तै त होला भनेर चित्त बुझाएको छु’, उनले भने । उनले साउदी अरबमा मर्मतसम्बन्धी कम्पनीमा काम गरिरहेको बताए ।

वैदेशिक रोजगारीका लागि दशैं छाडेर कतार हिँडेका चितवनका अरुण रम्तेलको मन पनि निको छैन । प्लस टुमा होटल व्यवस्थापनको पढाइ पूरा गरेपछि उनी जागिर खोज्दै विदेश हिँडेका रहेछन् । बुबा मलेसियामै काम गरिरहनुभएकाले आफूले पनि विदेश नै रोजेको उनले सुनाए ।

आमा सम्झना रम्तेलले आशु पुछ्दै विमानस्थलको टर्मिनलमा छोरालाई नेपालको झण्डा पहिराएर बिदाई गर्दा अरुणका पनि आँखा रसाए । रम्तेलले भने, ‘बाबा पनि विदेशतिरै हुनुहुन्छ, भाइको पढाइ र घरखर्चका लागि म पनि त्यतै जानुपर्ने भयो, भिसा र टिकटको काम सकिएपछि दशैंका लागि कुर्न सकिएन’, उनले भने ।

त्यसैगरी लुम्बिनीका ओमप्रकाश चौबे वैदेशिक रोजगारीका लागि दुबईका लागि प्लेन चढ्नु अघि विमानस्थलको टर्मिनलमै भेटिए । केही समयअघि बिदा लिएर घर आएका चौबेले दशैंमा आफैं मात्रै होइन भतिज अजय चौबेलाई पनि सँगै लैजादै थिए । अजय चौबेले कक्षा नौको पढाइलाई अधुरै छाडी विदेश हिँडेका रहेछन् ।

नेपालगञ्जकी २४ वर्षीय रेखा खत्रीको पनि जापान जाने टिकट दशैंको अघिल्लो दिन नै परेछ । नेपालमा अध्ययन गरे पनि रोजगार नपाएपछि विदेशिन बाध्य भएको उनले सुनाइन् । ‘प्लस टु सकेर चार वर्ष कृषि विषय पढेँ तर केही पनि काम पाइनँ । अहिले डेढ वर्ष जापानिज भाषा पढेर जापान हिँडेकी छु’, उनले भनिन् ।

जापान जाँदै गरेकी बहिनीलाई बिदाइ गर्न विमानस्थल पुगेका काठमाडौं तारकेश्वरका इन्द्र रानामगरले टिकट नमिलेका कारण दशैंको मुखमा छुट्टिनु परेको दुःखेसो पोखे । ‘परिवारका सबै सदस्य सँगै बसेर दशैंको टीका लगाउन त मन थियो नि, परिस्थितिले त्यस्तै गर्यो, टिकट मिलाउनै सकिएन’, उनले भने ।

महानवमीको दिन गाउँ तथा शहरमा दशैं मनाइरहँदा उनीहरु जस्ता हजारौंले पैसा कमाउने सपना बोकेर शुक्रबार मुलुक छाडे । विमानस्थलसम्म पुग्नेहरु अधिकांशले भिजेका आँखाले आफन्तलाई बिदाइ गरेको दृश्य अत्यासलाग्दो देखिन्थ्यो ।

– राससबाट

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार