प्रभु साहले भने – मिनबहादुर गुरुङले हामी जस्तो गरिब पार्टीको कार्यालय पनि बनाइदिए हुन्थ्यो नि !

आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले पार्टी कार्यालय निर्माणका लागि भाटभटेनीका संचालन मिनबहादुर गुरुङसँग जग्गा माग गरेका छन्।

दसैं, दिपावली एंव छठ पर्वको अवसरमा मंगलबार सिरहाको गोलबजारमा आजपा सिरहा जिल्ला कमिटीद्वारा आयोजित शुभकामना तथा भेटघाट कार्यक्रममा सहभागी आजपा अध्यक्ष साहले पार्टीको केन्द्रीय कार्यालय निर्माणका लागि गुरुङसँग जग्गा माग गरेका हुन्।

‘अर्बौंको सम्पत्ति भएको, केन्द्रदेखि प्रदेश, पालिका सरकारमा सहभागी नेकपा (एमाले) लाई जग्गा दान गरी पार्टी कार्यालय बनाइदिने भाटभटेनीका संचालक मिनबहादुर गुरुङले हामी जस्तो गरिब पार्टीको कार्यालय पनि बनाइदिए हुन्थ्यो नि! अर्बौंको सम्पत्ति एक अर्बपति पार्टीलाई दान गरिएको छ। दान त गरिब, असहाय, निमुखालाई पो गरिन्छ। प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्री, मेयर भएको पार्टीलाई यो दान नभई खुलमखुल्ला घुस दिएको हो,’ आजपा अध्यक्ष साहले भने।

एमालेसँग लाखौं सदस्य भएको अर्बपतिको पार्टी भएको बताउँदै उनले सदस्यहरूबाटै १००/१०० रुपैयाँ चन्दा उठाएर पनि पार्टी कार्यालय बनाउन सक्ने तर घुसमा पाएको जग्गा र कार्यालय पाएर एमालेजन रमाएको बताए।

आफ्नो पार्टी कार्यालय समेत बनाउन नसक्ने एमालेबाट मुलुक समृद्ध हुनै नसक्ने बताउँदै आजपा अध्यक्ष साहले अब मुलुकलाई समृद्ध बनाउने जिम्मेवारी आफूले लिन तयार रहेको बताए।

‘मुलुकको निर्माण कार्य ठप्प छ। तोकिएकै समयमा निर्माण कार्य हुन नसकेर मुलुक बर्बाद भएको छ,’ आजपा अध्यक्ष साहले भने, ‘महेन्द्र राजमार्ग, हुलाकी राजमार्ग लथालिङ्ग छ। काठमाडौंको तिनकुने, कालीमाटीको पुल बनाउन नसक्ने प्रधानमन्त्रीजीले मुलुक समृद्ध कसरी बनाउनुहुन्छ? उहाँले त आफ्नो पार्टी कार्यालय बनाउन सक्नुभएको छैन, मुलुक समृद्ध बनाउने कुरा भ्रम मात्रै हो।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार