सुनसरीको इटहरी उपमहानगरपालिका–३ सुनौलो बस्तीका १० परिवारले नाङ्लो बुन्ने पुर्ख्यौली पेसा अपनाएका छन् । व्यावसायिक रूपमा नाङ्लो बुन्दै आएका राई परिवारले लोभलाग्दो आर्जन पनि गरेका छन् ।
सोही स्थानका वसन्त राई दुई दशकदेखि नाङ्लो बुन्दै आएको छ। भोजपुर होम्ताङका उनको व्यवसाय नै नाङ्लोको व्यापार हो । नाङ्लो बेचेर उनले घरव्यवहार चलाउँदै आएको छ ।
इटहरी सुनौलो बस्तीमा होम्ताङबाट आएका राई जातिको बाहुल्य छभने सबैको आम्दानीको स्रोत नै नाङ्लो बुन्ने र बेच्ने भएको छ । उनले तालतलैया, खोर्सानेघाटबाट बाँस ल्याउने गरेको छभने केही आफैँले पनि रोपेको छ । उनले दैनिक १० वटासम्म नाङ्लो बुन्ने गरेको बताए ।
एक पटकमा दुई सय वटासम्म बिक्रीका लागि नाङ्लो लैजाने गरेको तथा महिनामा २० देखि २५ हजारसम्मको नाङ्लो बिक्री गर्दै आएको उनले बताए । एउटा नाङ्लो एक सय ५० देखि दुई सयसम्ममा बिक्री हुने गरेको छ ।
नाङ्लो विशेषगरी असोज–कात्तिकमा धेरै बिक्री हुने गरेको, यसको कमाइले घरखर्च पुगेको अर्का उद्यमी विक्रम राईले बताए । उनले ग्राहकको मागअनुसार नाङ्लो बनाउने गरेको बताए। धरान, विराटनगर, पथरीलगायत क्षेत्रका ग्राहकले नाङ्लो माग गर्दै आएका छन् ।
नाङ्लो व्यवसायी कोपिला राई बजारमा नाङ्लोको माग बढे पनि मूल्य यथावत् रहेको बताउँदै अब लागतअनुसार दाम पनि बढाउन आवश्यक भएको बताउँछन् । पुख्र्यौली पेसालाई निरन्तरता दिँदै आएका विक्रम राईले महिनामा दुई सयभन्दा बढी नाङ्लो बेच्ने गरेको छ ।
नाङ्लो बनाउने बाँस पाउन गाह्रो भएको एउटा सिङ्गो बाँस दुई सयसम्म पर्ने गरेको जानकारी दिँदै उनले एउटा बाँसबाट १० वटासम्म नाङ्लो बनाउन सकिने बताए ।
‘आफ्ना उत्पादन बोकेर गाउँ डुल्नु पर्दैन, घरमा नै आएर व्यापारीले लैजान्छन् । मेहनतअनुसारको कमाइ हुन्छ,’ नाङ्लो बुनेर घरखर्च चलाउँदै आएका विक्रमले घरका सबैले नाङ्लो बुन्ने गरेका जानकारी दिँदै भने ।