जुम्लाका किसान धमाधम मार्सी धान थन्क्याउँदै

जुम्लाका किसान हिजोआज मार्सीधान काट्न व्यस्त छन् । जिल्लाका चन्दननाथ–१, चन्दननाथ–३, लेकाली–१ र लेकाली–३ मा उन्नत जातका मार्सीधानको खेती हुँदै आएको छ ।

दशैं सकिएसंगै मार्सीधान भित्र्याउन हतार भएको सिंजा गाउँपालिकाका जयशङ्कर धिताल बताउँछन् । गत जेठमा रोपिएको धान कात्तिक लागेसँगै घरमा भ्यिाउन थालिएको कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले जानकारी दिए ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लामा दुई हजार आठ सय ५० हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । मार्सीधानको क्षेत्रफल भने बर्सेनि घट्दै गएको छ ।

गतवर्ष एक हजार पाँच सय हेक्टरमा रोपिएको मार्सीधान यस वर्ष एक हजार दुई सय हेक्टरमा झरेको प्रमुख देवकोटाले बताए ।

जिल्लाका गुठिचौर र तातोपानी गाउँपालिका, चन्दननाथ नगरपालिका र सिञ्जा भेगका किसान मार्सीधान काट्न व्यस्त भएको यहाँका स्थानीयवासी बताउँछन् ।

जिल्ला सदरमुकाम खलङ्गामा रहेका कोशेली घरमा आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा मार्सी चामल पर्ने गरेको व्यवसायी अर्जुन बुढाले जानकारी दिए । बजारमा मार्सी चामलको माग बढेपछि सुर्खेत, नेपालगञ्ज, काठमाडौँ, पोखरा, बुटवललगायत सहरमा पठाइने गरेको जनाइएको छ ।

जिल्लामा मात्रै पाइने काली मार्सी यसको स्वाद, रोग र किराको प्रतिरोध गर्न सक्ने गुण र पोषक तत्वका कारण जुम्ली मार्सीधानको महत्व अन्तर्राष्ट्रिय क्षेत्रमा पुगेको छ । तत्कालीन राणा शासनको समयमा केन्द्रमा रहेका शासकका लागि यही मार्सीधानको चामल हुलाकबाट काठमाडौँसम्म पुग्ने गरेको जनाइएको छ ।

करिब सात सय वर्षअघि जुम्लीहरूका देवता चन्दननाथले भारतको कास्मिरबाट मार्सी धानको बीउ ल्याएर लाछुज्युलाको गुरुफोक्टोमा धान खेतीको सुरुआत गरेको विश्वास गरिन्छ । जुम्ली मार्सी विश्वको अग्लो स्थानमा फल्ने धानको रूपमा लिइन्छ ।

कृषि विज्ञहरुका अनुसार चिसो हावापानीमा उत्पादन हुने खाद्यान्न र फलफूल निकै स्वादिलो हुन्छन् । त्यसैले जुम्लालगायत हिमालको तल्लो भेग र उच्च पहाडमा फल्ने मार्सी धानको भात निकै मिठो र स्वादिलो हुन्छ ।

यसको चामलको भात खाँदा धेरै बेरसम्म भोक लाग्दैन । स्वादिलो, आडिलो र स्वस्थकर हुन्छ । मार्सी धानको चामल खैरो रङको हुने गरेको कृषि विकास कार्यालयले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार